दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्रीको पहल

दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्रीको पहल


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थालेका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो । किसानले मुख्यमन्त्री कार्कीसमक्ष भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेपछि पहल सुरु गरिएको हो ।

विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीलाई मुख्यमन्त्री कार्कीले कार्यालयमा बोलाएर रकम उपलब्ध गराउने विषयमा छलफल गरेका हुन् । सरोकारवालालाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले जानकारी दिए । सो अवसरमा आयोजनाको कार्यप्रगति, संस्थाको अवस्था र बजारका विषयमासमेत उनले छलफल गरेका थिए ।

आयोजना संघीय सरकारको संरचना भए पनि किसानको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने तथा पूर्णरूपमा सञ्चालन र बजारीकरण गर्न सङ्घीय सरकारसँग छलफल गरेर आगाडि बढ्ने मुख्यमन्त्री कार्कीले बताए ।

कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्मासहितको उपस्थितिमा भएको उक्त छलफलमा विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम र पाँचथर तथा मधेस प्रदेशको सप्तरीका किसानलाई रु ३२ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

आयोजनाका प्रमुख परमेश्वर चौधरीले बजारमा खुल्लारूपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा समस्या भएकाले अहिलेको अवस्था आएको बताएका छन् । आयोजनाले दूध प्रतिलिटर रु ९८ मा बिक्री गरिरहेको छ ।