अख्तियारले फर्छ्यौट गऱ्यो २७ हजार ३ सय ७५ मुद्धा, ८ अर्ब ३५ करोड १२ लाख असुल्न माग

अख्तियारले फर्छ्यौट गऱ्यो २७ हजार ३ सय ७५ मुद्धा, ८ अर्ब ३५ करोड १२ लाख असुल्न माग


  • सुरेन्द्र सुवेदी, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष ०८०/८१ मा २७ हजार ३ सय ७५ वटा मुद्धा फर्छ्यौट गरेको छ । आयोगमा गत आवमा २६ हजार ५ सय २२ उजुरी परेका थिए । अख्तियारका प्रवक्ता सहसचिव नरहरि घिमिरेका अनुसार आव ०७९/०८० मा फैसला नभएर बाँकी रहेका समेत ३५ हजार ७ सय ९० वटा मुद्धा थिए । अर्थात आव ०७९/०८० बाट ९ हजार २ सय ६८ वटा मुद्धा सरेर आएका थिए । अख्तियारको मुद्धा फर्छ्यौट रेसियो ७६ दशमवल ४९ प्रतिशत रहेको छ ।

आयोगले रङ्गेहात पक्राउ गरिएका मुद्धा ३१ वटा थिए । त्यसमा ४४ जना व्यक्ति रहेका र तीमध्ये सरकारी कर्मचारी ३२ जना, लेखापढी व्यवसायी/बिचौलिया ९ जना र वडाअध्यक्षहरु ३ जना थिए । ती रङ्गेहात पक्राउ परेका व्यक्तिबाट ५१ लाख ४२ हजार ५ सय रुपैयाँ बरामद भएको थियो ।

आयोगबाट विशेष अदालतमा दायर भएका मुद्धामध्ये फैसलामाथि चित्त नबुझेर ९२ वटा मुद्धा लिएर आयोग सर्वाेच्च अदालत पुगेको छ । आयोगले विशेष अदालतमा २ सय १ वटा मुद्धा गत आवमा दायर गरेको थियो । जसमा गैरकानुनी लाभमा ५८, घुस वा रिसवतमा ४८, नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रमा ३४, सार्वजनिक सम्पत्ति हानी वा नोक्सानीमा ३४, राजश्व चुहावटमा १३, गैरकानुनी सम्पत्ति आर्जनमा ११ र अन्य ३ वटा रहेको प्रवक्ता सहसचिव घिमिरेले घटना र विचारलाई जानकारी दिए ।

विशेष अदालतमा दायर मुद्धामा ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १ सय ४२ रुपैयाँ असुल्न माग गरिएको छ । कूल २ सय १ आरोपपत्रमा प्रतिवादी १ हजार ५ सय २० जना रहेका छन् । तीमध्ये सरकारी कर्मचारी ५ सय २४ जना, जनप्रतिनिधि १ सय १ जना, मनोनीत पदाधिकारी १ सय ८१ जना रहेका छन् । यस्तै लेखापढी व्यवसायी २ जना, बिचौलिया २ जना, व्यवसायी ९१ जना र अन्य ६ सय १९ जना रहेको अख्तियारले जनाएको छ ।