अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति पदको उम्मेदवारबाट पछिहटेका छन् । आफू उम्मेदवार रहनुबाट पछि हट्दा पार्टी र देशको हित हुने भएको उम्मेदवारी फिर्ता लिएको अभिव्यक्ति बाइडेनले दिएका छन् ।
चार महिनापछि अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा बाइडेनको यो निर्णयले ह्वाइट हाउसको दौड रोचक बनाएको छ ।
आफ्ना प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पविरुद्धको बहसमा बाइडेनका प्रस्तुतिहरू ‘निराशाजनक’ रहेपछि डेमोक्र्याट नेताहरूले उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए ।
आइतबार (२१ जुलाई) उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि बाइडेनले राष्ट्रपतिका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने बताएका छन् ।
गत हप्ता कोभिडबाट संक्रमित भएपछि राष्ट्रपति बाइडेन आफ्नो गृहराज्य डेलावेयर फर्केका थिए । तथापि, उनले आफूलाई भगवानले मात्रै उम्मेदवारी फिर्ता गराउन सक्ने बताएका थिए । पछि स्वास्थ्यमा थप समस्या आएपछि उम्मेदवारी फिर्ता लिने विचार गर्न सकिने पनि उनले बताएका थिए ।
सामाजिक सञ्जाल ‘एक्स’मार्फत राष्ट्रपति जो बाइडेनले भावी राष्ट्रपति पदका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने स्पष्ट गरेका छन् । उनले लेखेका छन्- ‘मैले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु र बाँकी कार्यकालको कर्तव्य पूरा गर्नमा मेरो सबै शक्ति केन्द्रित गर्नेछु । सन् २०२० मा पार्टीको उम्मेदवारको रूपमा मेरो पहिलो निर्णय कमला ह्यारिसलाई उपराष्ट्रपतिमा चयन गर्ने थियो र सो निर्णय उत्कृष्ट थियो । आज म पार्टीको उम्मेदवारको रूपमा कमला ह्यारिसको नामलाई पूर्ण समर्थन गर्दछु । अब हामी डेमोक्र्याटहरू एकजुट भएर ट्रम्पलाई पराजित गर्ने समय आएको छ ।’
प्रतिक्रिया