दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत


इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग आज (७ साउन) नेपालका लागि इजरायली राजदूत हनान गोदारले गर्नुभएको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो ।

मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालका अनुसार हाल छनोट चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी कूल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको छ ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत छलफल भएको थियो ।

आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिनेबारेमा समेत कुराकानी भएको प्रवक्ता रिजालको भनाइ छ । सो क्रममा मन्त्री भण्डारीले नेपाल-इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गर्दै इजरायल-प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपिन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन अनुरोध गर्नुभएको थियो ।