गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु

गाजामा हमासको नियन्त्रणमा रहेका दुई बन्धकको मृत्यु


गाजामा हमासले बन्दी बनाएका दुई बन्धकको मृत्यु भएको इजराइली अभियान समूह होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरमले बताएको छ ।

फोरमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा अपहृत ३५ वर्षीय यागेभ बुचश्ताब र ७६ वर्षीय एलेक्स डान्सिङको मृत्यु भएको छ र, उनीहरुको मृत्युले बन्धकहरूलाई घर फर्काउनुपर्ने अपरिहार्यतालाई थप पुष्टि गरेको छ ।

‘उहाँहरूको शव हमास लडाकू समूहले राखेको छ’, छुट्टै विज्ञप्तिमा इजराइली सेनाले भनेको छ, ‘हमासको कैदमा उहाँहरूको मृत्युको अवस्थाको अनुसन्धान सबै पेशेवर अधिकारीहरूले गरिरहेका छन् ।’

फोरमका अनुसार बुचश्ताबलाई उनकी श्रीमती रिमोन बुचश्ताब किर्ष्टसँगै किबुत्ज निरिमस्थित उनीहरूको घरबाट अपहरण गरिएको थियो । श्रीमतीलाई ५० दिनपछि रिहा गरिएको थियो ।

यहुदी नरसंहारबाट बचेकाहरूको घरमा जन्मिएका डान्सिङले याद वाशेम नामक इन्टरनेसनल होलोकास्ट रिमम्बरेन्स इन्स्टिच्युटमा काम गरेका थिए र त्यहाँ हजारौँ गाइडलाई तालिम दिएका थिए ।

फोरमका अनुसार आफूसँगै बन्दी बनाइएका बन्धकहरूले डान्सिङले कैदमा साथी बन्धकहरूलाई इतिहासको ब्याख्यान दिँदै समय व्यतीत गरेको बताएका छन् ।

‘यागेभ र एलेक्सलाई जिउँदै लगिएको थियो र उहाँहरू जिउँदै आफ्नो परिवार र देशमा फर्किनुपर्थ्यो’, यसमा महिनौँसम्म जारी युद्धविराम वार्तालाई उल्लेख गर्दै फोरमले भनेको छ, ‘कैदमा उहाँहरूको मृत्यु वार्तामा ढिलाइको परिणामको दुःखद प्रतिबिम्ब हो ।’