दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको छ । सम्बन्धित अधिकारीले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।
बताइए अनुसार दक्षिण इथियोपियाको पहाडी क्षेत्रमा भएको भारी वर्षाले सोमबार (२२ जुलाई) पहिरो निम्त्याएको हो ।
‘इथियोपियाको गोफा क्षेत्रको गेजे-गोफा जिल्लामा गएको पहिरोमा परी मृत्यु हुनेको सङख्या १४६ पुगेको छ’, गोफा क्षेत्र सञ्चार मामिला विभागले स्थानीय अधिकारी हाब्तामु फेटेनालाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पहिरोमा परी ज्यान गुमाएका ९६ जना पुरुष र ५० जना महिलाको शव फेला परेको जानकारी दिदै खोजी तथा उद्वार कार्य जारी रहेको हाब्तामुले बताएका छन् ।
सरकारी सञ्चारमाध्यम ‘फाना ब्रोडकास्टिङ कर्पोरेट’ले सार्वजनिक गरेका तस्बिरहरूमा सयौं मानिसहरू प्रभावित भएको पहिरोको विनाशकारी दृश्य प्रसारण गरिएको छ ।
दक्षिण इथियोपियामा अप्रिल र मे महिनामा भएको मौसमी वर्षाले निम्त्याएको बाढीपहिरोले कयौँ मानिसहरुलाई विस्थापित गरेको संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यलय ओसिएएचएले जनाएको छ ।
प्रतिक्रिया