दुई साता खुल्ला गरिँदै ‘नाक्चे लाग्ना’ नाका

दुई साता खुल्ला गरिँदै ‘नाक्चे लाग्ना’ नाका


मुगुस्थित नेपाल-चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गतेदेखि साउन ३१ गतेसम्म खुला रहने छ ।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार मुगुको नाक्चे लाग्नासँगै डोल्पाको मायुम्ला नाका दुई साताका लागि खुला गरिनेछ । चीनको हाटबजार ह्यजिमार क्षेत्रमा आउजाउ गर्न प्रवेशाज्ञा उपलब्ध गराउने तयारी भइरहेको र नाका खुला गरिने समयावधिभर नेपालतर्फ सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ केसीको भनाइ छ ।

नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन् । अस्थायी नाका खोल्न र हाटबजार नियमित रुपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूताबास र परराष्ट्र मन्त्रालयबीच सहमति भएको हो । मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाका अनुसार हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुनेगरेको छ ।

नेपालतर्फ सडक सुविधा छैन । स्थानीय र व्यापारीले घोडा, खच्चर र चौरीगाईको सहयोगमा व्यापार गर्ने गर्छन् । मुगुम कार्मारोङ गाउँपालिका–१ का वडाध्यक्ष च्यावा लामा सस्तो दैनिक उपभोग्य वस्तु किनबेच गर्न नाका खुला भएपछि सहज हुने बताउनुहुन्छ । सदरमुकाम गमगढीबाट नाग्चे लाग्ना नाकासम्मको ८७ किमि सडक बनाउने कार्य अघि बढेको छ । हालसम्म १७ किमि सडकको ट्र्याक खोल्ने काम सकिएको छ । नाग्चे लाग्ना नाका मुगु र तिब्बतको झोङ्बा काउन्टीस्थित नाइजु जोड्ने नाका हो ।