अस्ताए नेपाली लोकसङ्गीतका बहुप्रतिभाशाली गायक

अस्ताए नेपाली लोकसङ्गीतका बहुप्रतिभाशाली गायक


रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो, सान्नानी… ऐयाया.. आत्थाथा…

रेडियो नेपालबाट आजभन्दा पचास साठी वर्षअघि बज्ने यो गीत नसुन्ने पुराना पुस्ताका गीतप्रेमी शायदै कोही होलान् । यस्ता कालजयी गीत गाउने नेपाली लोकसङ्गीतका बहुप्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । झापा जिल्लाको दमक-१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस हुनुभएका उहाँको उपचारका क्रममा लाइफलाइन अस्पतालमा निधन भएको हो ।

विसं १९९३ मा धनकुटा बजारमा जन्मनुभएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उहाँले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाउनुभएको थियो । पूर्वेली लोकभाका उहाँ गीत गाउनुहुन्थ्यो । ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो ।

उहाँ चित्रकार र अभिनेता पनि हुनुहुन्थ्यो । चलचित्र ‘हिजो आज भोलि’मा उहाँले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गर्नुभएको थियो । उहाँले नौवटा चलचित्रमा अभिनय गर्नुभएको थियो ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले लोकगायक एलपी जोशीको निधन नेपाली लोकसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो । ‘उहाँ घाँस दाउरा गर्ने भुइँमान्छेहरुको भावना टपक्कै टिपेर सङ्गीतको लयमा ढाल्नुहुन्थ्यो’, खरेलले शोक वक्तव्य जारी गरेर भन्नुभएको छ ।

विसं २०१३ मा उहाँको पहिलो गीत ‘नेपालको माया…’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुम्नु भएको र नेपाली लोकसङ्गीतको भण्डारलाई समृद्ध बनाउन योगदान पुर्याउनुभएका उहाँलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो । विसं २०५३ मा म्युजिक नेपालबाट उहाँको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा आएको थियो ।