ओलम्पिक उद्घाटनमा गलत परिचय गराएकोमा आइओसीले माग्यो दक्षिण कोरियासँग माफी

ओलम्पिक उद्घाटनमा गलत परिचय गराएकोमा आइओसीले माग्यो दक्षिण कोरियासँग माफी


अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली खेलाडीलाई उत्तर कोरियाली भनेर गलत परिचय गराइएकोमा माफी मागेको छ।

फ्रान्सको राजधानीमा आयोजित ओलम्पिकको उद्घाटनमा दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई उत्तर कोरियाको आधिकारिक नामले परिचय गराइएको थियो ।

‘उद्घाटन समारोहका क्रममा दक्षिण कोरियाली टोलीको परिचय गराउँदा भएको गल्तीका लागि हामी माफी माग्छौँ’, आइओसीले बताएको छ ।

आइओसीको यस त्रुटिले दक्षिण कोरियामा अप्रसन्न प्रतिक्रियाहरूका साथै असन्तुष्टि पैदा गरेको छ ।

‘सन् २०२४ पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई उत्तर कोरियाली टोलीको रूपमा प्रस्तुत गरिएकोमा खेद व्यक्त गर्दछौँ’, दक्षिण कोरियाको खेलकुद मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । देशको उप-खेलकुद मन्त्री जाङ मि-रानले यस विषयमा छलफल गर्न आईओसी प्रमुख थोमस बाखसँग छलफल गर्नेसमेत बताएका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय ओलम्पिक कमिटीले पनि पेरिस ओलम्पिक आयोजक समिति र आईओसीसँग भेट गरेर यस्तो गल्तीको पुनरावृत्ति रोक्न अनुरोध गर्ने र आफ्नो प्रतिनिधिमण्डलका प्रमुखको नाममा आधिकारिक विरोध पत्र पठाउने योजना बनाएको सियोलको खेल मन्त्रालयले जनाएको छ ।