पुटिनद्वारा मध्यम दूरीको आणविक हतियार उत्पादन पुनः सुरु गर्ने धम्की

पुटिनद्वारा मध्यम दूरीको आणविक हतियार उत्पादन पुनः सुरु गर्ने धम्की


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले जर्मनी वा युरोपका अन्य स्थानमा क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो मनसाय पुष्टि गरेमा मध्यम दूरीका आणविक हतियारको उत्पादन पुनः सुरु गर्ने धम्की दिएका छन् ।

‘यदि संयुक्त राज्य अमेरिकाले यस्ता योजनाहरूलाई कार्यान्वयन गर्छ भने हामी आफूलाई मध्यम र छोटो दूरीको आक्रमण क्षमताको तैनाथी पहिले अपनाएको एकपक्षीय रोकबाट मुक्त भएको मान्नेछौँ’, सेन्ट पिटसबर्गमा नौसैनिक परेडका क्रममा पुटिनले भनेका छन् । अहिले रुसमा यस्ता धेरै प्रणालीको विकास अन्तिम चरणमा रहेको उनको दाबी छ ।

चेतावनी दिँदै राष्ट्रपति पुटिनले भने, “हामी युरोप र विश्वका अन्य क्षेत्रमा अमेरिकाका उपग्रहहरूको गतिविधिहहरूलाई ध्यानमा राख्दै तिनीहरूको असर कम गर्न कदम चाल्नेछौँ ।”

पाँच सयदेखि पाँच हजार पाँचसय किलोमिटरको बीचमा मार हान्न सक्ने क्षेप्यास्त्रहरू सन् १९८७ मा अमेरिका र सोभियत सङ्घले हस्ताक्षर गरेको हतियार नियन्त्रणसम्बधी सन्धिको विषय थियो । तर, वासिङ्टन र मस्को दुवैले सन् २०१८ मा मध्यम दूरीको आणविक बल सन्धिबाट फिर्ता लिए र एकअर्कामाथि उल्लङ्घनको आरोप लगाए ।

पछि रुसले संयुक्त राज्य अमेरिकाले विदेशहरूमा क्षेप्यास्त्र तैनाथ नगरेसम्म यस्ता क्षेप्यास्त्रहरूको उत्पादन पुनः सुरु नगर्ने बताएको थियो ।

पुटिनले भने, ‘महत्त्वपूर्ण रुसी प्रशासनिक र सैन्य स्थल यस्ता क्षेप्यास्त्रहरूको सीमामा आउनेछन् जुन भविष्यमा आणविक हतियारले सुसज्जित हुनसक्छ , जस्तो कि आक्रमण सुरु भएको करिब १० मिनेटभित्र यी क्षेप्यास्त्र हाम्रो क्षेत्रमा हुनेछन् ।’ रुसी राष्ट्रपतिले अमेरिकाले हालैका अभ्यासमा डेनमार्क र फिलिपिन्समा टाइफन मध्यम दूरीको क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको पनि बताए ।

‘यो अवस्थाले हामीलाई युरोपमा अमेरिकी पर्सिङ मध्यम दूरीको क्षेप्यास्त्रहरूको तैनाथीसँग जोडिएको शीतयुद्धका घटनाहरूको सम्झना गराउँछ’, पुटिनले भने ।

सन् १९८० को दशकमा शीतयुद्धको चरम अवस्थामा पश्चिम जर्मनीमा अमेरिकी पर्सिङ ब्यालेस्टिक क्षेप्यास्त्रहरू तैनाथ गरिएको थियो । जर्मनी एकीकरण र सन् १९९० को दशकसम्म अमेरिकी क्षेप्यास्त्रहरू तैनाथ भइरहे । तर शीतयुद्धको समाप्तपछि मस्कोबाट खतरा कम भएकाले संयुक्त राज्य अमेरिकाले युरोपमा तैनाथ क्षेप्यास्त्रहरूको सङ्ख्या उल्लेखनीय रूपमा कम गऱ्यो ।