‘नेपाली सेना समस्त नेपालीको आड र भरोसाको धरोहर’ : प्रधानसेनापति शर्मा

‘नेपाली सेना समस्त नेपालीको आड र भरोसाको धरोहर’ : प्रधानसेनापति शर्मा


आफ्नो कार्यकाल समाप्तितर्फ उन्मुख हुँदै गर्दा प्रधानसेनापति प्रभुराम शर्माले पृतनापतिहरूलाई सम्बोधन गर्नुभएको छ । आफ्नो ४१ वर्ष लामो सैनिक सेवा एवं प्रधानसेनापतिको तीनवर्षे कार्यकालको उत्तरार्धमा मंगलबार (१५ साउन) उहाँले भर्चुअल माध्यममार्फत पृतनापतिहरूलाई सम्बोधन गर्नुभएको हो ।

सम्बोधनका क्रममा प्रधानसेनापति शर्माले आफ्नो कार्यकालमा नेपाली सेनालाई प्राप्त संविधानप्रदत्त जिम्मेवारीका साथै नेपाल सरकारबाट प्राप्त थप जिम्मेवारी कुशलतापूर्वक वहन गर्न पुर्‍याएको योगदानका लागि पृतनापतिलगायत मातहतका सकलदर्जालाई धन्यवाद दिनुभयो । उहाँले नेपाली सेना समस्त नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्य अवगत गराउँदै सदैव राष्ट्रिय सुरक्षा एवं राष्ट्रहितअनुरूप असरदार रूपमा कार्य गर्न निर्देशन दिनुभयो ।

सम्बोधनकै क्रममा प्रधानसेनापतिले नेपाली सेनाले अनुशरण गर्दै आएको सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै एक भरोसादार एवं प्रभावकारी सङ्गठनको रूपमा स्थापित गराइराख्न भावी नेतृत्वलाई समेत आफूलाई जस्तै साथ-सहयोग दिइरहनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

सोही अवसरमा उहाँले हाल मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद् प्रतिकार्यमा लागि रहन निर्देशनसमेत दिनुभयो ।

बलाधिकृत रथी अशोकराज सिग्देल युद्धकार्य विभागका निमित्त विभागीय प्रमुखलगायत रथीहरु तथा अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा पृतनापतिहरूले प्रधानसेनापतिसमक्ष विद्यमान विपद् प्रतिकार्यमा फौजको परिचालनलगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत संक्षिप्त जानकारी गराएका थिए ।