सैनिक महाविद्यालयमा बने प्रशासनिक भवन, ओभरहेड ब्रिज र ई-लाइब्रेरी

सैनिक महाविद्यालयमा बने प्रशासनिक भवन, ओभरहेड ब्रिज र ई-लाइब्रेरी


प्रधानसेनापति प्रभुराम शर्माले भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालयमा निर्मित प्रशासनिक भवन, ओभरहेड ब्रिज र ई-लाइब्रेरीको उद्घाटन गरेका छन् ।

उक्त भौतिक संचनाको निर्माणसँगै सैनिक आवासीय महाविद्यालय, सल्लाघारीमा सम्पूर्ण प्रशासनिक कार्य एकै स्थानबाट सञ्चालन गर्न सहयोग पुग्नुका साथै विद्यार्थीहरूका लागि अतिरिक्त समयमा ई-लाईब्रेरीबाट इलेक्ट्रोनिक पाठ्य सामाग्रीको प्रयोग एवं खोजमूलक अध्ययन गर्न सहजता हुनेछ ।

यस्तै ओभरहेड ब्रिज निर्माणसँगै विद्यार्थीहरूलाई सल्लाघारी भक्तपुर सडक सुरक्षितसाथ वारपार गरी कक्षा कोठा र आवास भवन÷खेल मैदानमा आवतजावत गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ । सोही अवसरमा प्रधान सेनापतिले महाविद्यालयको शैक्षिक, बन्दोबस्ती, सुरक्षालगायतका विविध पक्षहरू बारे जानकारी लिँदै नवनिर्मित भौतिक संरचनालगायत विविध पक्षहरूको अवलोकन पनि गरे ।

सेनापति शर्माले भक्तपुरको खारिपाटीस्थित विद्युत् तथा यान्त्रिक शिक्षालय परिसरमा निर्माण गर्न लागिएको नेपाली सेना इन्जिनियरिङ कलेजको समेत शिलान्यास गरेका छन् । इन्जिनियरिङसम्बन्धी विभिन्न विधाहरुमा कक्षा सञ्चालन गर्ने लक्ष्यसहित स्थापना गर्न लागिएको यस कलेजबाट सो सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको सेनाले जनाएको छ ।