भारतको केरला प्रान्तका मुख्यमन्त्री पिनाराई विजयनले पहिरोप्रभावित वायनाडमा फसेकामध्ये २१५ जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको बताएका छन् । उद्धार कार्य अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका ८३ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको र कुल १० हजार ४२ जनालाई आश्रय शिविरमा सारिएको उनले जानकारी दिएका छन् ।
केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जका अनुसार पछिल्लो अपडेट अनुसार ९८ पुरुष, ८७ महिला, ३० बालबालिका गरी २१५ जनाको मृत शरीर पहिरोबाट निकालिएको र १४३ शरिरका अङ्गहरु फेला परेका र हालसम्म २१२ शवको पोष्टमार्टमको प्रक्रिया पूरा भएको छ ।
मुख्यमन्त्रीले प्रारम्भिक चेतावनी प्रणालीलाई परिमार्जन गर्न आवश्यक रहेको र जलवायु परिवर्तनको ढाँचालाई ध्यानमा राखेर वर्णनात्मक चेतावनी प्रणालीको विकास गर्नुपर्ने उल्लेख गरेका छन् ।
पहिरोले पुरै भत्किएको छुरलमालाको बस्तीलाई सारी अर्को बस्ती निर्माण गर्नुपर्ने देखिएको बताइएको छ भने वायनाडबाट लोकसभामा निर्वाचित विपक्षी नेता राहुल गान्धीले चुरलमालामा एक सय वटा घर निर्माण गर्ने घोषणा गरेका छन् । कर्नाटकका मुख्यमन्त्री सिद्धरामैँयाको प्रस्ताव पनि सय घर निर्माण गर्ने भन्ने छ ।
प्रतिक्रिया