महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित


राजधानी काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार (१९ साउन) भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो ।

महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट भने नेपालले जित्यो । नेपालले भारतलाई २५–१७ ले पाखा लागायो । तर चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५-१३ ले पराजित गर्‍यो ।

उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । उक्त प्रतियोगिताअन्तर्गत आइतबार २० साउन) दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ । उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो ।

यसक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेपछि उहाँले सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई बधाई दिनुभएको हो ।

‘नेपालको जित । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । बधाई नेपाली टिम’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

‘भलिबलमा नेपाललाई ऐतिहासिक सफलता’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली खेलाडीलाई बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आज सम्पन्न भारतविरुद्धको खेलमा जित हासिल गरेकामा खुसी व्यक्त गर्दै नेपाललाई ऐतिहासिक सफलता मिलेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘नेपाललाई ऐतिहासिक सफलता मिलेको छ । नेपाली छोरीहरूलाई हार्दिक बधाई ! काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’