‘होस्टेल ३’ मार्फत ‘माग्ने बुढा’का छोरा आशिषले डेब्यु गर्दै

‘होस्टेल ३’ मार्फत ‘माग्ने बुढा’का छोरा आशिषले डेब्यु गर्दै


निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’ले छायाङ्कनअगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए ।

यसअघि प्रमुख भूमिकामा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन् । अब यो चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे । आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् । आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए। उनी सो शृङ्खलामा निकै चर्चित थिए ।

‘यस चलचित्रमा केही प्रमुख पात्रहरू रहेका छन्, जसमा सबै जनाको भूमिका बलियो छ। होस्टेलमा बसेर अध्ययन गर्नेहरू मध्ये एक जना पुरुष कलाकारको जरुरी रहेकोमा हामीले खोजेको जस्तो पात्र आशिषमा पायौँ’- निर्देशक कँडेलले बताए ।

यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । हेना थियटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन्। उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन् । चलचित्र ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन् ।

इन्टरनेट दुनियाँका चर्चित पारस बम ‘कुल ब्वाय’ नामले परिचित छन् । रिहान गिरी गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट हुन् । पदम तामाङ भारतको सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन्। सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्। यि कलाकार बाहेक अन्य कलाकारहरू पनि चलचित्रमा अनुबन्ध भइसकेको र उनीहरूलाई क्रमशः परिचय गराउने निर्देशकले कँडेलले बताए।

‘होस्टेल’ चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ । ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्सुबाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन् । २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए ।

ुहोस्टेल ३ुको लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । ‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् । लाइन प्रोड्युसर भेषराज गौतम हुन्।