सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबल प्रतियोगिताअन्तर्गत आइतबार (२० साउन) भएको खेलमा नेपाल इरानसँग पराजित भएको छ । प्रतियोगितामा यो नेपालको पहिलो हार हो । यसअघि नेपालले श्रीलङ्का र भारतलाई पराजित गरेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा इरानले नेपाललाई ३-२ ले पराजित गरेको हो । इरानविरुद्धको खेलमा नेपालको सुरुआत भने राम्रो हुन सकेन । नेपाल पहिलो सेटमा इरानसँग १६-२५ ले पराजित भयो । उक्त सेटमा इरानले १६-१० को अग्रता बनाएपछि नेपाल खेलमा फर्कन सकेन ।
दोस्रो सेटमा भने नेपालले उत्कृष्ट सुरुआत गर्दै खेललाई आफ्नो पक्षमा ल्यायो । नेपालले सुरुआतमा ७-० को अग्रता बनाएको थियो । सोही अग्रतालाई जोगाउदै नेपालले इरानमाथि २५-१६ ले जित्यो र खेललाई एक/एकको बराबरीमा ल्यायो ।
खेलको तेस्रो सेटमा नेपाल पुनः पराजित हुन पुग्यो । तेस्रो सेटको सुरूआतमा नेपालले ७-२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन । इरानले ९(९ को बराबरीमा पुर्याएपछि यो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्त्यमा इरानले २५-२३ ले जित्यो ।
खेलको चौथो सेटमा नेपालले सम्यमित प्रदर्शन गर्यो । उक्त सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्दै खेललाई दुई/दुईको बराबरीमा ल्यायो ।
त्यसपछिको अन्तिम तथा निर्णायक पाँचौ सेटमा भने नेपाल पराजित यो । इरानले पाँचौ सेट १५-१३ ले जित्यो । जितसँगै इरानले ४ खेलबाट सात अङ्क बनाएको छ भने नेपालको तीन खेलबाट ६ अङ्क छ ।
नेपालले यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । नेपालसँगै सेमिफाइनलमा इरान, भारत र श्रीलङ्का पुगेका छन् । लिग चरणको अन्तिम खेलमा भोलि नेपाललले माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै भोलि नै हुने अर्को खेलमा श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
प्रतिक्रिया