समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ ।
लोवथाङमा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दाबी गरिएको छ । यसअघि लोमान्थाङ गाउँपालिकाले त्यहाँ दुई पटक गल्फ प्रतियोगिता आयोजना गरिएको थियो ।
मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टका अनुसार आगामी भदौ १ गते हुन लागेको तेस्रो संस्करणको प्रतियोगितामा ६० जना खेलाडीले सहभागिता जनाउनेछन् । खेलकुदको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै उनले भनेका छन्- ‘उच्च उचाइको कारणले, प्रतियोगिता नौ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाउँछौँ, विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन र लङेस्ट ड्राइभका लागि पनि पुरस्कार प्रदान गरिनेछ ।’
प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यका साथ १५ जना भारतीय खेलाडीलाई पनि आमन्त्रण गरिएको छ । होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीलाई याक पुरस्कार प्रदान गरिने विष्टले बताए ।
गल्फ प्रतियोगितामा याक पुरस्कार दिने अनौठो र चाखलाग्दो अभ्यास गर्न लागिएको र प्रतियोगिता सञ्चालन गर्न रु सात लाख खर्च हुने अनुमान गरिएको छ । दुई वर्षअघि निर्माण भएको सो खेलमैदानलाई विश्वकै उच्च स्थानको गल्फ कोर्सको रुपमा गिनिज बुकमा अभिलेख दर्ता गराउने उद्देश्यसहित यसअघि सन् २०२२ र २०२३ को अगस्टमा पनि प्रतियोगिता सञ्चालन गरिएको थियो ।
यसअघि भारतको सिक्किममा तीन हजार नौ सय ७० मिटर उचाइमा रहेको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मान्ने गरिएको थियो । लोवाथाङ गाउँपालिकाको केन्द्र लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा पर्छ । त्यहासम्म पुग्न सडक समेत विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदानमा गल्फ खेलका लागि मैदान बनाइएको छ ।
गल्फका लागि टि बक्स, फेयर वे र ग्रिन, फ्रन्ट लाइन र ब्याक लाइनको टिबक्सलगायत संरचना बनाइएको छ । गल्फ खेलमैदान पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ । सवारीसाधनमा लोमान्थाङबाट ३० मिनेटमा पुग्न सकिन्छ ।
प्रतिक्रिया