जापानको हिरोसिमा शहरमा भएको परमाणु बम आक्रमणको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयरले बताएका छन् ।
काजुमी मात्सुईले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग १ लाख ४० हजाको ज्यान जाने गरी भएको अमेरिकी परमाणु बम आक्रमण पीडितहरूको सम्झनामा आयोजित स्मृति कार्यक्रममा शोकपूर्ण भाषण दिएका छन् ।
‘युक्रेनमा रुसको आक्रमण र इजरायल र प्यालेस्टाइनबिचको बिग्रँदै गएको अवस्थाले अनगिन्ती निर्दोष मानिसहरूको ज्यान लिइरहेको छ र सामान्य मानिसको जीवनलाई ध्वस्त पारेको छ, यी विश्वव्यापी त्रासदीले राष्ट्रहरूबिच अविश्वास र डरलाई गहिरो बनाइरहेका छन्, जसले अन्तर्राष्ट्रिय समस्या समाधान गर्न हामी सैन्य शक्तिमा भर पर्नुपर्छ भन्ने धारणालाई बलियो बनाउँछ’, उनले भने ।
सन् १९४५ मा हिरोसिमामा आक्रमण गरेको केही दिनपछि अमेरिकीले दक्षिणपश्चिम जापानको नागासाकीमा दोस्रो परमाणु बम प्रहार गरेको थियो जसमा करिब ७४ हजार मानिसहरुको ज्यान गएको थियो ।
यी दुई बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो भने युद्धमा परमाणु बम प्रयोग गरिएको यो नै पहिलो घटना हो ।
मङ्गलबार (६ जुलाई) आयोजित समारोहमा प्रधानमन्त्री फुमियो किशिदासहित अन्य व्यक्तीहरुले पीडितको सम्झनामा हिरोसिमा स्मारकमा रहेको शिलालेखमा माल्यार्पण गरे । युक्रेन सङ्कटका कारण लगातार तेस्रो वर्ष रुस र बेलारुसलाई समारोहमा आमन्त्रित गरिएको थिएन ।
प्यालेस्टिनी लडाकु समूह हमासले देशमा गरेको आक्रमणपछि गत वर्ष इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेपछि यो जापानी सहरमा आयोजित पहिलो शान्ति स्मारक हो । समारोहमा सधैंजसो इजरायली राजदूतको उपस्थिति थियो तर हिरोशिमाले प्यालेस्टिनी प्रतिनिधिलाई आमन्त्रित नगरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
शहरका एक अधिकारीले बताएअनुसार हिरोशिमाले इजरायललाई दिएको निमन्त्रणा पत्रमा ‘सकेसम्म चाँडो युद्धविराम र वार्ताको माध्यमबाट समाधान’ को आह्वान गरेको थियो ।
प्रतिक्रिया