बङ्गलादेशमा युनुसले सम्हाले अन्तरिम सरकारको नेतृत्व

बङ्गलादेशमा युनुसले सम्हाले अन्तरिम सरकारको नेतृत्व


नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिएका छन् ।

युनुसका लागि अब प्रमुख कार्य बङ्गलादेशमा शान्ति पुनःस्थापित गर्ने र हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नु रहेको छ । हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरङ्कुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए ।

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उनको भूमिकाको शपथ गराए । मुख्य सल्लाहकार पद प्रधानमन्त्री बराबरकै हो । शपथग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी नगराइएको एएफपीले जनाएको छ ।

अन्तरिम मन्त्रिपरिषदमा मुख्यरूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ । एएफपीका अनुसार युनुसको मन्त्रिमण्डलमा एक दर्जनभन्दा धेरै सदस्यले शपथ लिएका छन् । उनीहरू मन्त्री नभएर सल्लाहकारको पदमा छन् ।

यो साता विद्यार्थी नेता, नागरिक समाजका प्रतिनिधि र सेनाबीच भएको छलफलमा मन्त्रिपरिषद्का सदस्य युनुसलाई अन्तरिम नेताका रूपमा चयन गरिएको थियो ।

सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा जुलाईमा सुरु भएको धेरै साताको अराजक प्रदर्शनपछि गत सोमबार हसिनाले पदबाट राजीनामा गरेकी थिइन् । आलोचकहरूले आरक्षण प्रणालीले हसिनाको पार्टीसँग सम्बन्ध भएका मानिसको पक्ष लिएको बताएका थिए ।

बढ्दो हिंसाका बीच विद्यार्थीसहित तीन सयभन्दा बढीको मृत्यु भएपछि विरोध प्रदर्शन चाँडै नै हसिनाको १५ वर्षको शासनका लागि ठूलो चुनौती बन्यो ।

सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका युनुस उनलाई अन्तरिम भूमिका निर्वाह गर्नका लािग चयन गर्दा २०२४ ओलम्पिकका लागि फ्रान्सको राजधानी पेरिसमा थिए । उनी कडा सुरक्षाबीच बिहीबार नै स्वदेश फर्किएका हुन् ।

आफ्नो आगमनपछिको पहिलो टिप्पणीमा उनले आफ्नो प्राथमिकता व्यवस्था पुनःस्थापना गर्नु रहेको बताए । ‘बङ्गलादेश एउटा परिवार हो, हामीले यसलाई एकजुट गर्नुपर्छ, यसको सम्भावना अपार छ’, उनले विद्यार्थी नेताहरूसँग भने ।

फोटो : एएफपी