प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेता के. नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका सिंहको गुरुग्राम (हरियाणा)स्थित मेदान्त अस्पतालमा निधन भएको हो ।
काङ्ग्रेस नेता एवं राज्यसभा सांसद रणदीप सिंह सुरजेवालाले शनिबार राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको शोक सन्देशमा भनिएको छ, ‘पूर्व विदेशमन्त्री नटवर सिंहजीको निधन भएको छ । ईश्वरले उहाँको परिवारलाई यो क्षति सहने शक्ति प्रदान गरुन्, साथै, दिवङ्गत आत्माको शान्तिका लागि कामना ।’
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व विदेशमन्त्री नटवर सिंहको निधनप्रति दुःख व्यक्त गर्दै उहाँले कूटनीति र वैदेशिक नीतिका क्षेत्रमा भारतका लागि गरेको योगदानको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नटवर सिंहजीको निधनबाट मर्माहत भएको छु । उहाँले कूटनीति र विदेश नीतिको क्षेत्रमा भारतका लागि ठूलो योगदान दिनुभएको छ । उहाँ आफ्नो बुद्धि र विपुल लेखनका लागि पनि चिनिनुहुन्थ्यो । दुःखको यस घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना प्रकट गर्दछु ।’
सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषदमा विदेशमन्त्रीको रूपमा काम गरेका थिए । सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो ।
प्रतिक्रिया