हसिनाद्वारा बिहीबार सार्वजनिक रूपमा उपस्थित हुन आफ्ना समर्थकहरूलाई आग्रह
गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भाग्नुभएको थियो र अहिले भारतमै रहेकी छन् । उनको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए । उनको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए ।
निजी नागरिकका तर्फबाट मुद्दा ल्याएका वकिल मामुन मियाका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो । यो बङ्गलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो ।
अदालतमा मियाले दायर गरेको मुद्दामा हसिनाका पूर्वगृहमन्त्री असदुज्जामान खान र हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिरको नाम पनि समावेश गरिएको छ । यसमा हसिना सरकारले नियुक्त गरेका चार शीर्ष प्रहरी अधिकारीको पनि नाम छ । उनीहरूलाई पदबाट बर्खास्त गरिएको छ ।
उक्त मुद्दामा एक किराना पसलका मालिकको मृत्युको जिम्मेवारी सात जनालाई लगाइएको छ । जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो ।
डेली स्टार अखबारका अनुसार गोलीबारी भएको छिमेकका निवासी अमिर हम्जा शातिल र पीडितका एक ‘शुभचिन्तक’का तर्फबाट मुद्दा ल्याइएको थियो ।
यसैक्रममा अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।
‘म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु’- उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भनेकी छन् ।
प्रतिक्रिया