बाढी-पहिरोलगायतका विपदमा परी १७५ को मृत्यु

बाढी-पहिरोलगायतका विपदमा परी १७५ को मृत्यु


अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी-पहिरोलगायतका विपदमा परी आज (३१ साउन) दिउँसोसम्म एक सय ७५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोलगायत विपदमा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा एक सय ७५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार बाढीपहिराबाट काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय २४ जना घाइते भएका छन् ।

बाढीपहिरोबाट काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा तीनजना, कर्णाली प्रदेशमा दुईजना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय १३ जनाको उद्दार गरिएको प्रवक्ता कार्कीले बताए ।

उनले भने, ‘बाढी पहिरोमा परी कोशी प्रदेशमा दुईजना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चििम प्रदेशमा एक जना गरी ४९ जना वेपत्ता भएका छन् ।’

बाढीका कारण दुई सय ८६ वटा घर, एक सय पाँच वटा गोठ, ४९ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । बाढी पहिरोमा परी आजसम्म आठ सय २० वटा पशु चौपायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार सय ७२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

file photo: rss