‘स्पीड चेकिङ’का क्रममा गयो ज्यान, ५ घण्टासम्म गठ्ठाघर तनावग्रस्त

‘स्पीड चेकिङ’का क्रममा गयो ज्यान, ५ घण्टासम्म गठ्ठाघर तनावग्रस्त


  • रमेश गिरी, भक्तपुर

बिहीबार (३१ साउन) दिउँसो १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेको थियो । करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडकमा रोक्न लगाए, स्कुटर रोकियो ।

सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर थियो । तीब्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झण्डै एक सय मिटर परसम्म घिसारेर लग्यो । स्कुटर चालकको शरीर क्षतविक्षत भयो । दुर्घटना हुनेवित्तिकै वरपर मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्रकचालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भीड प्रहरीमाथि खनियो ।

ट्राफिक प्रहरीले सडकमा जथाभावी ‘स्पीड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भीड ट्राफिक प्रहरीमाथि नै जाइलाग्यो । सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भीडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्‍यो । त्यसपछि आक्रोशित भीड र प्रहरीबीच ढुङ्गा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो ।

केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्‍यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो ।

तनावकाबीच प्रहरीले शव झिक्न निकै प्रयास गर्‍यो । टायरमुिन शव परेकाले तान्दा पनि आएन । त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भीडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो ।

भीड नियन्त्रणका लागि भक्तपुरका एक सय १८ जना प्रहरी, काठमाडौंबाट पुगेका एक सय ३० जना प्रहरी र सशस्त्रका एक सय २३ जना परिचालन भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित भीडले प्रहरी बीट, ट्राफिक आइरल्याण्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड गरेका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पाँच घण्टापछि शव निकालेर सडक खुलाइएको जानकारी दिनुभयो । भीड नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउन्ड र नेपाल प्रहरीले २२ राउन्ड अश्रु ग्यास प्रहार गरेको जानकारी प्रजिअ श्रेष्ठले बताउनुभयो । घटनाको छानबिन सुरु भइसकेको जानकारी दिँदै उहाँले सडकमा राखिएको फलामे बोर्डका कारण सिसी क्यामरामा दुर्घटनाको दृश्य हेर्न समस्या आएको बताउनुभयो ।

घटना भएको ६ घण्टापछि मृतक पुरुष रहेको पहिचान भएको छ । प्रजिअ श्रेष्ठले मृतक महिला नभई पुरुष भएको खुलेको जानकारी दिनुभयो ।

प्रनाउ कार्कीले मृतकको साथबाट ओखलढुङ्गाका ४५ वर्षीय उत्तम कोइराला नाममा जारी सवारीचालक अनुमतिपत्र भेटिएको जानकारी दिनुभयो । तथापि, आफन्तबाट शव पहिचान नभएसम्म यकिन अझै भन्न नसकिने उहाँको भनाइ छ ।

घटनामा संलग्न ट्रकचालक सर्लाही मलङ्गवा नगरपालिका-२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ भने मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।

तस्बिर : रासस