साफ च्याम्पियनसिप शुरु हुन तीन दिन बाँकी, मैदानको टुङ्गो अझै लागेन !

साफ च्याम्पियनसिप शुरु हुन तीन दिन बाँकी, मैदानको टुङ्गो अझै लागेन !


दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यही भदौ २ गतेदेखि नेपालमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा पनि खेल कुन मैदानमा हुने अझै टुङ्गो लागेको छैन ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले खेल दशरथ रङ्गशाला वा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने हो भन्ने अझै टुङ्गो नलागेको बताए । उनले भनेका छन्, ‘हामीले दशरथ रङ्गशालामा प्रतियोगिताका खेल गर्ने तयारी गरेका थियौँ, तर सहिद स्मारक ए डिजिभन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीको खेलमा मैदान बिग्रिएकाले साफ च्याम्पियनसिपको खेल कुन मैदानमा गर्ने टुङ्गो लागेको छैन ।’

उक्त खेलमा बिग्रिएको खेलमैदानका कारण चर्को आलोचना भएको थियो । उनले शुक्रबार खेल मैदानको टुङ्गो लाग्ने जनाए ।

प्रतियोगिताको उद्घाटन खेल दशरथ रङ्शालामा हुन नसके वैकल्पिक रुपमा रहेको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनसक्ने प्रवक्ता शाहको भनाइ छ ।

प्रतियोगिताको उद्घाटन खेल आगामी भदौ २ गते नेपाल र श्रीलङ्काबीच हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल भने दशरथ रङ्गशालामै हुने उनले जानकारी दिए ।

भदौ १२ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र श्रीलङ्का छन् ।

त्यसैगरी समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोतिगामा सहभागिता जनाउन माल्दिभ्स आजै नेपाल आइपुगिसकेको छ । त्यसैगरी भुटान, श्रीलङ्का र भारत भोलि नेपाल आइपुग्नेछन् भने बङ्गलादेश आगामी भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।