डब्लुएचओद्वारा मङ्कीपक्सलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा

डब्लुएचओद्वारा मङ्कीपक्सलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा


मङ्कीपक्स रोगको प्रकोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक आपतकाल घोषणा गरेको छ ।

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस रोगको फैलावटमा भएको द्रुतवृद्धि साथै छिमेकी देशमा पनि यसको पहिचान भएसँगै यसलाई राष्ट्रिय आपतकाल घोषणा गरिएको हो ।

डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले यो अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल अन्तर्राष्ट्रिय स्वास्थ्य कानूनअन्तर्गत उच्चस्तरको चेतावनी भएको बताए ।

‘आज आपत्कालीन समितिको बैठकले मङ्कीपक्स रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल भएको सुझाव दिएको छ । मैले त्यो सुझाव स्वीकार गरेको छु । अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय स्वास्थ्य कानुनअन्तर्गत उच्चस्तरको चेतावनी हो’, टेड्रोसले मङ्कीपक्सबारे भएको आपत्कालीन समितिको बैठकको नतिजाबारे जनाकारी गराउँदै भनेका छन् ।

यस वर्ष १० अफ्रिकी राष्ट्रमा मङ्कीपक्स पत्ता लागेको रोग नियन्त्रण र रोकथामका लागि डब्लुएचओका अफ्रिकी केन्द्रहरूले गत हप्ता बताएका छन् ।

‘मङ्कीपक्सको सङ्क्रमण अफ्रिकाभित्र र त्योभन्दा बाहिर फैलन सक्ने सम्भावना रहेकाले यो चिन्ताजनक अवस्था हो’, टेड्रोसले भने ।

प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकोमा उहाँले जोड दिए । उनले कङ्गोमा मङ्कीपक्सको मामिलामा भएको वृद्धिको मूल्याङ्कन गर्न गत हप्ता आपतकालीन समिति गठन गरेको जानकारी दिए ।

गत सेप्टेम्बरदेखि मध्य अफ्रिकी राष्ट्र कङ्गोमा एमपक्स सङ्क्रमण बढिरहेको छ । हाल छिमेकी देशहरूमा पनि यसको सङ्क्रमण पत्ता लागेको छ । डब्लुएचओले सन् २०२२ मा ७० भन्दा बढी देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो ।

मङ्कीपक्सबाट कङ्गोमा ५४८ को मृत्यु

यसैबीच कङ्गोमा एमपक्सको प्रकोपले यस वर्षको सुरुदेखि पाँच सय ४८ को ज्यान लिइसकेको बताइएको छ । त्यहाँका सबै प्रान्त यसको भाइरसबाट प्रभावित भएका छन् । त्यहाँका स्वास्थमन्त्री स्यामुएल-रोजर कम्बाले भनेका छन्, ‘हालैको महामारी विज्ञान रिपोर्टअनुसार हाम्रो मुलुकले यस वर्षको सुरुदेखि १५ हजार ६ सय ६४ सम्भावित घटना र पाँच सय ४८ जनाको मृत्यु भएको रेकर्ड गरेको छ ।’

प्रजातान्त्रिक गणतन्त्र कङ्गो २६ प्रान्त मिलेर बनेको छ र यहाँ करिब १० करोड जनसङ्ख्या छ । एमपक्सबाट सबैभन्दा प्रभावित प्रान्तहरूमा दक्षिणी किभु, उत्तरी किभु, त्सोपो, इक्वेटर, उत्तरी उबाङ्गी, त्सुपा, मोङ्गला र सङ्कुरु रहेका छन् ।