तनहुँमा मानव-वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार पछिल्लो समय चितुवाले मानिसलाई आक्रमण गरेका घटना बढ्दै गएका छन् । २०७४ यता तनहुँमामात्र चितुवाको आक्रमणबाट १४ बालबालिकाले ज्यान गुमाइसकेका छन् ।
गत असार १२ मा म्याग्दे गाउँपालिका-२ का मानबहादुर गर्जा मगर, विसं २०७९ कात्तिक ४ मा बन्दीपुर गाउँपालिका-३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङ, विसं २०७९ भदौमा व्यास नगरपालिका-११ का डिल्लीमाया गुरुङ र शङ्कर गुरुङका छोरा शङ्करको मृत्यु भएको थियो । उक्त घटनामा गुरुङ दम्पती घाइते भएका थिए ।
विसं २०७९ कात्तिक १५ मा व्यास नगरपालिका-१२ छिर्कनका चित्रबहादुर कुँवर थापाका नाति सात वर्षीय अभिनव कुँवर, विसं २०७९ जेठ २९ मा बन्दीपुर गाउँपालिका-१ का भीमलाल गरौजा, विसं २०७८ असोज २५ मा बन्दीपुर गाउँपालिका-५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।
डिभिजन वन कार्यालयको तथ्याङ्कानुसार चितुवाको आक्रमणबाट विसं २०७७ साउन २१ मा शुक्लागण्डकी नगरपािलका-२ का नारन राना, विसं २०७६ माघ १३ मा बन्दीपुर गाउँपालिका-४ का ११ वर्षीय इसाक परियार विसं २०७६ पुस २१ मा आँबुखैरेनी गाउँपालिका-१ का आठ वर्षीय पुजन सिंजाली, विसं २०७६ पुस १३ मा शुक्लागण्डकी नगरपालिका-३ का १९ महिने बालक रविन नेपालीको मृत्यु भइसकेको छ ।
विसं २०७६ कात्तिक ११ भानु नगरपालिका-२ का ऋतिक रोका, विसं २०७६ जेठ २४ मा आठ वर्षीया बालिका पुष्पा अधिकारी र विसं २०७५ मङ्सिर १५ मा १० वर्षीय बालक अमृत गुरुङको चितुवाले ज्यान लियो । चितुवाको आक्रमणबाट विसं २०७६ असोज २१ मा सोही पालिका वडा नं-१ का कुशल बानियाँको पनि मृत्यु भएको थियो ।
विसं २०७५ कात्तिक २९ मा भानु-४ का चार वर्षीया बालिका रञ्जिता लम्साल र विसं २०७४ फागुन १ मा भानु नगरपालिका-२ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । साथै विसं २०७९ असार १ मा बन्दीपुर गाउँपालिका-१ प्युघरका प्रेमबहादुर बगाले मगरका पाँच वर्षीय छोरा सुप्रिम थापाको चिुतवाको आक्रमणबाट घाइते भए ।
सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले भनेका छन्, ‘करिब आठ वर्षमा चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै चितुवासँगै भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ ।’
विसं २०८० जेठ ४ मा व्यास नगरपालिका-८ का गोरे विक भालुको आक्रमणमा परी घाइते बनाएको उनले बताए । तीनवटा भालु र दुई बाँदरको आक्रमणबाट मानिस घाइते भएका डिभिजन वनको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै चितुवाकै आक्रमणबाट १७ जना घाइते भएका तथ्याङ्कमा छ ।
विश्वकर्माका अनुससार बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुको आक्रमण बढेको हो । मुख्यगरी वन्यजन्तुको आहार वनजङ्गलमा पर्याप्त नहुनु र बासस्थानको नजिक मानव बस्ती बस्दै जाँदा मानव-वन्यजन्तुबीचको द्वन्द्व बढेको हो । चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई जथाभावी नछाड्न र घर वरपर सरसफाइलाई ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ ।
मानव-वन्यजन्तुबीचको द्वन्द्व कम गर्न वन्यजन्तुको आहार, बासस्थानमा खलबल्याउन नहुने विज्ञजनको भनाइ छ । साथै मृग, चित्तल, वनकुखुरा, फलफूल मानिसले शिकार पनि गर्न नहुने अवधारणा स्मरण गराइएको छ । किनकि, जङ्गलमा आहार कम भएपछि उनीहरू बस्ती पस्न बाध्य भएको हुनसक्छ ।
प्रतिक्रिया