मोदीसँगको फोनवार्तामा युनुसले दिए हिन्दू तथा अल्पसङ्ख्यकको सुरक्षाको आश्वासन

मोदीसँगको फोनवार्तामा युनुसले दिए हिन्दू तथा अल्पसङ्ख्यकको सुरक्षाको आश्वासन


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसबीच टेलिफोन वार्ता भएको छ ।

बङ्गलादेशमा सत्ता परिवर्तनपछि हिन्दू अल्पसङ्ख्यक समुदायहरूमाथि आक्रमणका समाचारहरू आइरहेका बेला दुई नेताबीच गत शुक्रबार पहिलो कुराकानी हो । यो कुराकानीपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मलाई मोहम्मद युनुसको फोन आयो । यस क्रममा हामी दुवैले बङ्गलादेशको वर्तमान परिस्थितिको बारेमा कुरा गऱ्यौँ ।’

भारतका प्रधानमन्त्री मोदीले फोनवार्तामा आफूले भारतको बङ्लादेशलाई हेर्ने अडान पूर्ववत रहेको र बङ्गलादेशको परिवर्तित राजनीतिक सन्दर्भमा लोकतन्त्र, स्थिर र शान्तिपूर्णको बङ्गलादेशको लागि कुरा राखेको जानकारी दिएका छन् ।

उनले एक्समा लेखेका छन्, ‘मैले लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण र प्रगतिशील बङ्गलादेशका लागि भारतको समर्थन दोहोऱ्याएँ । उहाँ (मोहम्मद युनुस)ले बङ्गलादेशका हिन्दू र सबै अल्पसङ्ख्यकको सुरक्षाको आश्वासन दिनुभएको छ ।’

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको मुद्दालाई उठाएर सुरू भएको विद्यार्थी आन्दोलनमा व्यापक जनसहभागिता देखिएपछि हेलिकप्टरमा आफ्ना निकट सहयोगी लिएर तत्कालिन प्रधानमन्त्री शेख हसिना भारतको नयाँदिल्ली पुगेकी थिइन् ।