परराष्ट्रमन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (२ भदौ) भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा. राणा नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री एस. जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।

मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाइ गर्नुभएको थियो ।

मन्त्री डा. राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी हुनुहुन्छ ।

परराष्ट्रमन्त्री राणाको यो भ्रमण नेपाल र भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको हो । उहाँ यही भदौ ६ गते स्वदेश फर्कनुुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।