थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छन् ।
सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उनका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो ।
राजाको अनुमोदनसँगै अब पेन्टोङ्टार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नेछन् । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ ।
अल जजिराका अनुसार हालै थाई संसद्ले पेन्टोङ्टार्नलाई आगामी र थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो ।
संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उनको स्थान पेन्टोगटार्नले लिएकी हुन् । उङ इङ उपनामले प्रसिद्ध पेन्टोङ्टार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उनी परिवारको तेस्रो सदस्य हुन् ।
३७ वर्षीया पेन्टोगटार्नलाई उनको फेउ थाई पार्टीको सत्तारूढ गठबन्धनले मनोनयन गरेको त्यहाँको संसद्ले पुष्टि गरेको छ ।
प्रतिक्रिया