म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार-खिवाङ-शिख-चित्रे सडकअन्तर्गत अन्नपूर्ण-५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको छ । गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ भने पर्यटकीय याम सुरु हुन लागेपनि स्थानीय व्यवसायीले होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पाएका छैनन् ।
घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् । पोखरेबगर-चित्रे-घोडेपानी सडकअन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुनसकेको छैन ।
वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ ।
अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर-चित्रे सडकमार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुऱ्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ-कुटुका-पेरीभारानी-घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको जानकारी दिएका छन् ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुनलगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहाललाई भेट गरी पोखरेबगर–चित्रे सडकको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराएका थिए ।
photo: rss
प्रतिक्रिया