गृहसचिवले अनावरण गरेको ताम्रपत्र जग्गादाताले ढाकिदिए : प्रशासनले अपमान गरेको भन्दै जग्गादाताद्वारा पुनः उद्घाटनको माग
स्याङ्जामा नेपाल सरकारका गृहसचिव एकनारायण अर्यालले उद्घाटन गरेको इलाका प्रशासन कार्यालय भवन जग्गादाताको असन्तुष्टिपछि विवादित बन्न पुगेको छ । गृहसचिवले गत आइतबार (२ भदौ) अनावरण गरेको ताम्रपत्र मंगलबार इलाका प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउँदै स्थानीय जग्गादाताहरूले ढाकिदिएका छन् ।
वालिङ नगरपालिका-९ मा निर्माण गरिएको भवनको उद्घाटन यही भदौ २ गते गरिएपनि भवनमा लेखिएको ताम्रपत्रमा भने उद्घाटन मिति ‘२०८१ असार २२’ लेखिएको छ । पुरानो मितिको ताम्रपत्र एक/डेढ महिनापछि सुटुक्क आएर उद्घाटन गर्दा गृहजिल्लामै गृहसचिव अर्याल विवादमा फसेका हुन् ।
जग्गा दाता तथा स्थानीयले इलाका प्रशासन कार्यालयका प्रमुख शुभाष शर्मा पौडेललाई ज्ञापनपत्र बुझाउँदै ताम्रपत्र हटाउन र पुनः जग्गादाताहरुको सहभागितामा उद्घाटन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
भवन उद्घाटन इलाका प्रशासन कार्यालयको कार्यक्रम नभइ जिल्ला प्रशासन कार्यालयको कार्यक्रम रहेको बताएपछि इलाका प्रशासन कार्यालय वालिङका प्रमुख शुभाष शर्मा पौडेलसँग जग्गादाता झनै आक्रोशित बनेका थिए । कार्यालयको जिम्मा लिएका प्रमुखले गैह्रजिम्मेवार तर्क गरेको भन्दै जग्गादाता र पौडेलबीच भनाभनसमेत भएको थियो । पछि वडा प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक वसन्त पाठकले सहजीकरण गरेपछि जग्गादाताले ताम्रपत्र ढाकेर छाडेका छन् ।
ज्ञापनपत्र बुझाउँदै जग्गादाता कपिलदेव शर्मा पंगेनीले भने, ‘हामीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क रुपमा दियौँ तर हामीलाई बेवास्ता गरियो ।’ भवन अनावरणमा आफूहरुलाई भित्र प्रवेश गर्नसमेत रोक लगाएको जग्गादाताको गुनासो छ । कपिल देवले भवनका लागि १ रोपनी ४ आना जग्गा निःशुल्क दिएका थिए भने ध्रुवराज पंगेनीले १ रोपनी, खड्ग कुमारी खाणले ८ आना र विष्णुप्रसाद पंगेनीले ४ आना जग्गा निःशुल्क प्रदान गरेका थिए । भवन झण्डै ४ रोपनी क्षेत्रफलमा निर्माण भएको छ ।
उता जिल्ला प्रशासन कार्यालयको सामान्य त्रुटीले गृहसचिव जस्तो उच्चपदस्थ अधिकारी आफ्नै जिल्लामा विवादित बनेको प्रति धेरैले चिन्ता व्यक्त गरेका छन् । गत असार २२ गते जिल्लामा अविरल वर्षाका कारण आएको बाढीले जनधनको क्षति पुगेका कारण प्रशासनको भवन उद्घाटन कार्यक्रम स्थगित गरिएको थियो ।
असार २२ मा स्थगित गरिएको कार्यक्रमलाई गृहसचिवको अनौपचारिक जिल्ला भ्रमणमा रहेका बेला हतार–हतार भवनमा रहेको ताम्रपत्र अनावरण गरी पूर्ण दिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए । यसलाई गलत तरिकाले नबुझ्न जग्गादाता र शुभेच्छुकलाई उनले आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया