चार जनालाई डसेर लुकेको गोमन सर्पको उद्धार

चार जनालाई डसेर लुकेको गोमन सर्पको उद्धार


कपिलवस्तु नगरपालिका-१ जमुहार टोलमा दश दिनअघि दुई घरका चार जनालाई डसेको गोमन जातको विषालु सर्पलाई उद्धार गरिएको छ ।

वडाध्यक्ष जाहिद खाँको आग्रहपछि डिभिजन वन कार्यालय, कपिलवस्तुको टोलीले उक्त सर्पलाई पीडितकै घरबाट उद्धार गरेको हो ।

सशस्त्र वन रक्षक सरेन्द्र क्षेत्री र कुलबहादुर थापाले सर्पलाई नियन्त्रणमा लिइ उद्धार गरेका थिए ।

गत साउन २७ गते सोही सर्पले टोकेर १३ वर्षीय चिराग कसौधनको मृत्यु भएको थियो भने उनका १५ वर्षीय दाइ राज कसौधनलाई पनि सर्पले टोकेको थियो। अहिले उनको अवस्था सामान्य रहेको छ ।

यस्तै, साउन २८ गते, छिमेकी ११ वर्षीय अनमोल गुप्ता र १५ वर्षीय अस्मिता गुप्तालाई पनि सोही सर्पले डसेको थियो। दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष खाँले जानकारी दिए ।

यसअघि, वन डिभिजनको टोलीले सर्पको खोजी गर्दा फेला पार्न सकेको थिएन । तर, चार जनालाई टोकेको सर्प फेला नपर्दा जमुहारमा त्रास फैलिएको थियो। फेला परेको सर्पलाई तिलौराकोट साझेदारी वन क्षेत्रमा लगेर छाडिएको वन वरिष्ठ अधिकृत खिलबहादुर तामाङले बताए ।