युक्रेन यात्रमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिएका छन् ।
युक्रेनको राजधानी कीभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री एस जयशङ्करले भने, ‘भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिनुभएको छ । आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्नुहुनेछ ।’
जयशङ्करले युक्रेनलाई भारतले दिएको मानवीय सहयोगबारे पनि चर्चा गरेका थिए । ‘विगतमा पनि भारतले युक्रेनलाई मानवीय सहयोग गरेको थियो । आजसम्म युक्रेनलाई भारतले स्वास्थ्यसँग सम्बन्धित विभिन्न १७ प्रकारका सहयोग गरिसकेको छ’, उनको भनाइ थियो ।
प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच शुक्रबार मारिन्स्कीमा द्विपक्षीय वार्ता भएको थियो । भेटमा भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत विशिष्ट व्यक्ति सहभागी थिए ।
प्रतिक्रिया