युवाहरूको प्रतिभा विकासका लागि नवीनता एवम् उत्कृष्टताको भावना जगाउन समर्पित शैक्षिक संस्था ‘एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट’ले इन्टर-कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’ आयोजनाको घोषणा गरेको छ । नेपालका प्रमुख शैक्षिक संस्थामध्येको एक सो कलेजले नेपालकै सबैभन्दा ठूलो इन्टर-कलेज इभेन्ट गर्ने निर्णय मंगलबार (११ भदौ) सार्वजनिक गरेको हो ।
आगामी असोजको ५ देखि १२ गतेसम्म आयोजना हुने ‘एस एक्सप्रेसन्स २०२४’मा देशभरका उत्कृष्ट विद्यार्थीहरूको सहभागिता रहने र विभिन्न कार्यक्रमका साथ भब्यरूपले इभेन्ट सम्पन्न गरिने जनाइएको छ ।
उक्त कार्यक्रमका लागि मिडिया समन्वयकर्ता रहेका आभास राजभण्डारीका अनुसार ‘एस एक्सप्रेसन्स २०२४’ले विभिन्न प्रतियोगितात्मक र रोचक गतिविधिहरू आयोजना गर्नेछ, जसले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा, सिर्जनात्मकता र बौद्धिक क्षमताको प्रदर्शन गर्ने मञ्च प्रदान गर्नेछ । इभेन्टमा ब्यान्ड प्रतियोगिता, नृत्य प्रतियोगिता, फेशन शो, टीभीसी/डीभीसी, स्टक सिमुलेसन, स्ट्रेस इन्टरभ्यू, क्विज प्रतियोगिता, बहस प्रतियोगिता, फोटोग्राफी र चित्रकला जस्ता कार्यक्रम/प्रस्तुति समावेस गरिनेछन् भने उत्सवको समाापन एक भव्य कन्सर्टको साथ हुनेछ, जसमा नेपालका प्रसिद्ध कलाकारहरूको प्रस्तुति रहने राजभण्डारीको भनाइ छ ।
उत्सवको मुख्य कन्सर्टमा कलाकारहरू अभिष्कार केसी, श्रीगो, सुसान्त घिमिरे, पहेँलो बत्तीमुनि, रचना दाहाल र जोन एण्ड द लोकल्सले प्रस्तुति दिनेछन् । उक्त कन्सर्ट काठमाडौंको भृकुटीमण्डपमा २८ सेप्टेम्बरका दिन हुनेछ । कन्सर्ट अवलोकनका लागि पहिलो चरणका टिकटहरू खल्ती डिजिटल वालेटमा केवल ५०० रूपैयाँमा उपलब्ध रहेको जनाइएको छ ।
प्रतिक्रिया