पेरिस पारालिम्पिकमा भरतसिंह पराजित

पेरिस पारालिम्पिकमा भरतसिंह पराजित


नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत तेक्वान्दोको के-४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि पराजित भएका छन् ।

फ्रान्सको पेरिसस्थित ग्रान्ड पेलेसमा भएको राउन्ड अफ १६ को खेलमा पाँचौँ विश्व वरीयता जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गरे । भरत विश्व वरीयताको ५७औँ स्थानमा छन् । यस हारसँगै भरत प्रतियोगिताबाट बाहिरिएका छन् ।

तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार (१४ भदौ) नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले आगामी सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् । भरत र भीम वाइल्ड कार्डमार्फत पारालिम्पिकका लागि छनोट भएका हुन् । पलेशाले भने छनोट चरण पार गर्दैै पेरिस यात्रा पक्का गरेकी हुन् ।