हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुस, भारतीयद्वारा न्यायको माग

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुस, भारतीयद्वारा न्यायको माग


चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि न्यायको माग गर्दै भारतीयहरूको विशाल भीडले मैनबत्ती लिएर बिहीबार (२० भदौ) बिहानै कोलकाताका सडकहरूमा जुलुस निकालेको छ ।

अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन समस्यालाई लिएर मुलुकभर आक्रोश बढेको छ ।

चम्किरहेको मैनबत्ती र माटोको दियोमा लेखिएको एक सन्देशमा भनिएको छ, ‘हामी न्याय चाहन्छौँ’ । प्रदर्शनकारीहरूले बोकेका प्रतीकमा लेखिएको थियो, ‘उज्यालो होस्, न्याय होस्’ ।

उक्त नृशंस हत्याले सम्पूर्ण भारतमा विरोध प्रदर्शन सुरु भयो र महिलाहरूको सुरक्षा अवस्थाको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरिरहेका छन् । बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि कोलकाता जस्तो विशाल सहरमा नियमित प्रदर्शनहरू जारी छन् ।

कोलकोताको जुलुसमा करिब एक लाख मानिसले भाग लिएको बताइएको छ । राजधानी नयाँदिल्लीमा पनि यस्तै सानो जुलुस आयोजना गरिएको थियो । प्रदर्शनकारी रुबिना मुखर्जीले भनेकी छन्, ‘सम्पूर्ण मुलुकको हृदय छियाछिया भएको छ ।’

बुधबार साँझ अबेरसम्म हडतालमा रहेका सयौँ चिकित्सकसँगै हजारौँ मानिस भेला भएर विरोधमा मानव शृङ्खला बनाउन एकअर्काको हात समाइरहेका थिए । एक घन्टाका लागि बत्ती निभाइयो । शहरको एउटा ठूलो हिस्सा अँध्यारो भयो । प्रदर्शनकारीहरूले बलिरहेको मशाल बोकेर सहरको अँध्यारो आकाशलाई उज्यालो बनाइरहेका थिए ।

न्याय नमिलेसम्म यसैगरी बारम्बार रात बिताउने प्रदर्शनकारीको भनाइ छ । महिलाहरूले भारतीय झन्डा फहराउँदै सामूहिक धर्ना दिएर सडक अवरुद्ध गरेकाले कोलकाताका सामान्यतया व्यस्त हुने मुख्य सडकहरूमा यातायात रोकिएको थियो । भीडले क्रोधमा चिच्याउँदै ‘वि वान्ट जस्टिस’ भन्ने नारा लगाउँथे ।

प्रदर्शनकारीहरूले हत्या गरिएकी चिकित्सकलाई ‘अभया’ उपनाम दिएका छन् । यसको अर्थ निडर हो । हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ ।