यसरी मनाइनुपर्ने हो- हरितालिका तीज !

यसरी मनाइनुपर्ने हो- हरितालिका तीज !


आरम्भमा,
हाम्रो जस्तो कृषिप्रधान मुलुकमा बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ छोरी/बहिनीको बिहेघरमा गएर उनीहरूलाई सकेसम्म माइतीघर ल्याएर मीठोचोखो ख्वाई नाचगान गरेर मनाइने पर्व हो- हरितालिका तीज ! जसले माइती र चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउन सहयोग पुग्दछ । यो मानेमा हरितालिका तीज नेपाल, भारत लगायत विश्वका हिन्दु महिलाहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो । भाद्र शुक्ल द्वितीयाको दिनदेखि पञ्चमी (ऋषिपञ्चमी) का दिनसम्म हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधनाका साथै तीजका गीत गाएर अनि नाचेर धुमधामसँग हरितालिका तीज मनाउँछन् । यसर्थ, गणेश चतुर्थी र ऋषिपञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । तीज पर्वले आपसी एकता, सद्भाव, माया–प्रेम र समर्पणको भावना फैल्याएको पाइन्छ । यसरी यो पर्व हिन्दुप्रस्थ साँस्कृतिक जीवनको एउटा महत्त्वपूर्ण हिस्सा मान्न सकिन्छ ।

हरितालिका तीजको पृष्ठभूमि

हरितालिका तीज धार्मिक र सांस्कृतिक महत्त्व बोकेको चाड हो । यस पर्वलाई भगवान् शिव र देवी पार्वतीको पूजा अर्चना गर्ने अवसरको रूपमा लिइन्छ ।

परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी अष्टोत्तर सयवर्षसम्म घोर तपस्या गरेकी थिइन्, भनिन्छ । रपनि, तपस्या सफल हुन नसकेपछि जगतका पालनकर्ता भगवान् विष्णु/हरिलाई आफ्नो तपस्या कसरी सफल हुन्छ ? भनी पुनः हरिकै प्रार्थना गरिन् । उनको प्रार्थनाबाट प्रभावित भई भगवान् हरिले शिवलाई प्राप्त गर्न के कस्ता व्रत, उपासना तथा पूजा गर्नुपर्ने हो त्यसका विधिहरूका सम्बन्धमा सविस्तार बताइदिनुभयो । हरिले बताइदिए अनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट हुनुभयो र ‘म तिमीबाट प्रसन्न भएँ मनिचन्ते वर माग’ भन्नुभयो । यसरी पार्वतीले हरि भागवान्ले दिएको तालिका (हरितालिका) अनुसार पूजाअर्चना गरी शिवलाई पतिदेवका रूपमा पाइन् भन्ने जनविश्वास रहेकोछ । तदुरपरान्त यो पर्व हरितालिकाको नामले प्रचलित हुन पुग्यो । यो मानेमा विशेष सङ्कल्प, दृढता, एकाग्रता र निरन्तरताले नै सफलता पाउन सकिन्छ भन्ने सन्देश दिने हरितालिकाको विशेष प्रकारको महत्त्व रहेको मान्न सकिन्छ ।

फेरि, अर्कोतर्फ शब्द बनोटको हिसाबले आलिभिः सखिभिः हरिता इति हरितालिका ।
सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका । हुने बताइएको छ । यसको माने ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुने हुँदा पौराणिक प्रसङ्ग अनुसार पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई पिताजीले भगवान् विष्णुसँग विवाह गरिदिने निधो गरिएको अवस्थाबाट जोगाउन उनका साथीहरूले हरण गरेर जङ्गलमा लुकाएका थिए । पार्वतीले जङ्गलमै शिवलिङ्गको स्थापना ‘ॐ नमः शिवाय’ मन्त्र जप गरी भगवान् शिवजीलाई प्रसन्न गराई वरदानस्वरूप उनै भगवानलाई पतिरूपमा प्राप्त गरेकी थिइन् र त्यो दिन नै भाद्र शुक्ल तृतीयाको दिन थियो । त्यसैले आपत् मा परेकी साथीलाई हरण गरी उनले गरेको व्रतको परिणाम आफूले चाहेको पति प्राप्त गरेको दिनको स्मृतिस्वरूप त्यो दिनलाई हरितालिका भनिएको हो भन्ने जनश्रुति रहेको छ ।

हरितालिका तीजका परम्पराहरू

हरितालिका तीजको दिन विवाह भएका महिलाहरूले रातो र हरियो, चोली र साडी जस्ता पारम्पपरिक पोशाक लगाएर आफ्नो पतिको लामो आयुको कामना गर्दै एक विशेष व्रत (उपवास) बस्दछन् । अविवाहित चेलीहरूले महादेव जस्तै पति पाउन पाऊँ भनी व्रत लिने गर्दछन् । यसका साथै महिलाहरूले तीजको गीत गाएर र नृत्य गरेर रमाइलो पनि गर्छन् । यसमा पनि श्रीमद्भागवत महापुराणको एउटा प्रसङ्ग अनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भएको हो । श्रीकृष्णको जन्मभएको ११ औँ दिन अर्थात् न्वारन/नामकरणको दिन गोकुलका गोपगोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसियाली मनाएका थिए । यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुगेको मान्यता रही आएको छ ।

जेभएपनि, महिलाहरूले हरितालिकामा तीजका गीत गाउने र नाच्ने प्रचलन अद्यावधि कायमै छ । उनताका तीजका गीतहरूमा प्रायः भगवान् शिव र देवी पार्वतीको गुणगान, परिवारका सुख-शान्तिका लागि प्रार्थना एवम् विवाहित चेलीका बुहार्तन, पीडाहरू समेटिएका हुन्थे ।

कमसेकम वर्षको एकपटक माइतीमा भेला भएका दिदीबहिनीहरूले आपसी सुख दुःख, उन्नति प्रगति आदिका बारेमा समीक्षा गर्दै दाजु-भाइ, आमा-बुवा सबैको सामूहिक प्रसन्नताको रूपमा जन्मेको गाउँ, ठाउँमा बालसखाहरूबीचमा मनाइने तीजपर्व अहिले आएर पार्टी प्यालेस र ब्याङ्केटलाई माइती जस्तो मानेर मनाउँदै जान थालिएको छ । झन् आजभोलि त क्यासेट तथा म्युजिक प्लेयरबाट गीत बजाई नाच्ने चलन हावी भएको छ । यसले नारीहरूको रचनात्मक क्षमता तथा नाचगानको पुरानो मौलिक चलनलाई चुनौती दिएको महसुस हुन्छ । अझ तीजेगीतका नाउँमा उच्छृङ्खल, अश्लील एवम् उत्ताउला गीतहरू गाउने, नृत्यको नाउँमा अङ्गप्रदर्शन गर्ने, शृङ्गारको नाउँमा गहनाको प्रदर्शन गरेर समाजमा प्रतिष्ठित बन्न खोज्ने, दरका नाउँमा रेष्टुराहरूमा गरिष्ठ खाना अनि सोमरसपान गरी उचितानुचितको लक्ष्मणरेखा मेटाउने जस्ता विकृतिहरू तीजको समयमा व्यापक हुने गरेको हामीले छ्याप्छ्याप्ति देखिरहन विवश छौँ । यसलाई निर्धारित परम्पराको दायरामा समेटाउने तर्फ सरोकारवालाको ध्यानाकर्षण हुन जरुरी भैसकेकोछ ।

तीजका दिनको विशेष पूजा र व्रत

हरितालिका तीजको दिन, महिलाहरू विशेष पूजा विधिहरू पालन गर्छन् । प्रायः एउटा विशेष थालीमा विभिन्न पूजाको सामग्री राखी भगवान् शिव र देवी पार्वतीको मूर्तिको पूजा गर्ने प्रचलन रहेको छ । शरीर, मन, वचन र कर्मले शुद्ध भएर दियो, कलश, गणेश स्थापना गरी ‘उमामहेश्वरसामुज्य सिद्धेये हरितालिका व्रतमहं करिस्ये’ भन्ने सङ्कल्पका साथ उमामहेश्वरको पूजा गरेपछि आफ्नो सङ्कल्प पूरा हुने विश्वास गरिन्छ । वास्तवमा आफ्ना मनिषाहरू सार्थक पार्न गरिने निस्काम पूजा आराधना नै हरितालिका तीजको विशेष पूजा हो ।

हुन त तीजका दिन सकेसम्म पानी पनि नपिई ‘निर्जला’ नत्र कुनैपनि आहारा नखाई ‘निराहार’ व्रत बस्ने प्रचलन हो । तर, अचेल आफ्नो शरीर र स्वास्थ्यलाई ख्यालमा राखी पानी, जुस, फलफूल र दूध खाने चलन चलाइएकोलाई उपयुक्तै मान्नु पर्दछ । आस्थाका नाउँमा जबर्जस्ती बसिएको व्रत स्वयंमा प्रत्युत्पादक हुन सक्ने तथ्यलाई मनन गरिनु राम्रो हुन्छ ।

जेहोस्, तृतीया तिथिको दिन व्रतालु महिलाहरू दिनभरि भोकै यथासम्भव निर्जला नभएपनि निराहार व्रत बस्छन् । फेरि, द्वितीया तिथिको अहोरात्र कम्तीमा तीन पहर दर खाने चलन रहेको छ । बिहे घरमा बुहारीको बुहार्तन खेप्दै पेटभरि समेत खान नपाएका ठानिने छोरीचेलीहरूलाई वर्षको एकपटक यही ‘दरखाने दिन’ रचिएको पनि हुन सक्ने अड्कल गर्न सकिन्छ । अघिल्लो दिन शाकाहारी, मांसाहारी, दुधाहारी, फलाहारी, घृताहारी लगायतका गरिष्ठ भोजन गरेका महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन्, जुन विज्ञानसम्मत पनि देखिन्छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न पाऊँ भन्दै र विवाहित महिलाहरूले पारिवारिक सुख, शान्ति तथा मनचिन्ते दाम्पत्य जीवनको सफलताका लागि व्रत-आराधना गर्ने गर्छन् । तीजको दिनमा पानीसम्म नपिई निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुख, समृद्धि छाउने जनविश्वास रहेको छ । यो दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । सक्षम एवम् आस्तिक मन भएका महिलाहरूले दिनभरि निराहार व्रत बसेर साँझ भगवान् शिवको पूजा गर्दछन् । अनि, कन्याकेटीलाई टीका लगाएर दक्षिणा दिई फलाहार गर्ने प्रचलन रहेको छ ।

गणेश चौथी

तीजको भोलिपल्ट पर्ने भाद्र शुक्ल चतुर्थीको दिन नै गणेश चौथी हो । स्कन्द पुराणअनुसार यस दिन भगवान् गणेशको जन्म भएको थियो । हिन्दु धर्मावलम्बी महिलाहरूले यस दिनलाई आफ्नो जीवनमा कुनै विघ्न नआओस् र आफूले आँटेताकेको पूरा होस् भनी गणेशको पूजा गर्ने गर्छन् । गणेश चौथीका दिन गणेशका मन्दिरहरूमा भक्तजनहरूको अपार भीड लाग्ने गर्छ ।

ऋषिपञ्चमी

तीजको पर्सिपल्ट अर्थात् पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका त्रुटि तथा दोषको निवारण गर्न ऋषिहरूको पूजा गर्छन् । ऋषिपञ्चमीको दिनमा विष्णु पुराणका अनुसार सातौँ मन्वन्तरका सप्तऋषिहरु (जमदग्नी, भारतद्वार, विश्वामित्र, कश्यप, गौतम, अत्री र वशिष्ठ) को पूजा गर्नाले रजस्वलाको समयमा भएका त्रुटिहरू नष्ट हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यस दिन महिलाहरू अपमार्ग (दतिवन) सहित शुद्ध सफा माटो, गाईको गोबर, गहुत आदि सामग्री लिएर नजिकैको नदी तथा पोखरीमा जान्छन् र माटो, गोबर, जौ, तिल, कुश मिश्रित पानीले स्नान गरी ३६५ अपमार्गले दन्तमञ्जन गर्दछन् । गनेर ३६५ पु¥याइएका जौ, तिल र चामल चाल्नीमा राखेर माथिबाट पानी खन्याई सहस्रधारा मानेर नुहाउने चलन छ । नुहाइसकेपछि महिलाहरूले शुद्ध सफा वस्त्र लगाई पञ्चगब्य खाई पवित्र भएर ऋषिपूजा गर्ने परम्परा रहेको छ ।

पुराणमा उल्लिखित ‘विदर्भ देशमा बस्ने उत्तङ्ग नामका ब्राह्मणका एक छोरा र एक छोरी थिए । छोरो सानै उमेरमा वेदमा पारङ्गत भएका थिए । पूर्वजन्मको पापका कारण छोरी भने सानै उमेरमा विधवा भइन् । एकपटक छोरीको शरीरभरि खटिरा आएर किरासमेत परेछ । छोरीमाथि यस्तो वज्रपात किन पर्यो भनी बुझ्दा अघिल्लो जन्ममा छोरीले रजस्वला भएका बेलामा छुवाछुत नबार्ने र ऋषिपञ्चमी व्रतको पनि अवहेलना गर्ने गरेको जानकारी भएछ । तर पञ्चमीको व्रत नलिए पनि पूजा गरेको भने हेर्ने गर्दिरछिन् । त्यसै पुण्यका प्रभावले उनको जन्म ब्राह्मणको परिवारमा भएको रहेछ । यस्तो थाहा पाएपछि मातापिताले छोरीलाई पञ्चमीको व्रत बस्न लगाए । उनी पनि पञ्चमीको व्रत बसेपछि पापमुक्त भएर सुखी जीवन बिताउन थालिछन्’ भन्ने व्यहोराले नारीमनलाई यस कार्यमा सरिक हुन प्रेरित गरेको पाइन्छ ।

अन्त्यमा,
आफू जन्मेको घर, आमा-बुवा, दाजू-भाइ, इष्टमित्रलाई छाडेर अर्कैको घरलाई आफ्नो बनाएर जीवन बिताउनुपर्दा आउने माइतिको यादलाई कम गर्ने अवसरको रूपमा तीज पर्वलाई लिन सकिन्छ । हुनपनि सासू, ससुरा र श्रीमान् सँग बिदा मागेर, त्यो पनि ‘यो दिन जानु र यो दिन फर्कनु’ भन्ने हिसाबले दिन तोकेर माइत जाने चलन थियो । माइतीमा पनि वर्षायाममा घरको काम, खेतीपाती गरेर थाकेका दिदी बहिनीलाई बिसाइमारी आफ्नो जन्मस्थानमा आफ्ना बालसखाहरूसँग भेट भएर मीठो-मीठो खाना (दर) ख्वाएर तीजका गीत गाएर नाचेका दृश्यले अनुपम आनन्द पोखिएको अनुभूति हुन्थ्यो ।

गोकुलमा गोपगोपिनीहरूले श्रीकृष्णको न्वारनको खुसियाली गाएर-नाचेर मनाएको प्रसङ्गबाट सुरु भएको हरितालिका तीजलाई दिदी-बहिनीहरू माइतीमा जम्मा भई आफ्नो भावना, सुखदुःख तथा नारीको संवेदनालाई पनि गीतको विषय बनाएर सभ्य र भव्य ढङ्गले मनाउने गर्दथे । आजभोलि भने नारीले भोग्नुपरेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचारजस्ता विषयका मौलिक सिर्जनाका गीतहरू ग्रामीण समाजमा बाहेक अन्यत्र कताकति मात्र गाइन्छन् । हाम्रो जस्तो पुरुषप्रधान देशमा धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको तीज पर्वले घरभित्र मात्रै सीमितिएका महिला दिदी-बहिनीहरूलाई बाहिर निस्केर आफ्ना पीरमर्कालाई गीतका माध्मले अरू समक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि खँदिलै रहेको मान्न सकिन्छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्त्व भएका यी पर्वहरूको रहस्य सबैले बुझेर सभ्य तथा समुचित ढङ्गले यिनको पालना गर्नु हामी सबैको कर्तव्य हो । उपयुक्त जँचेको हदसम्म सरोकारी सबै महानुभावहरूले लागू गरौँ ।

…सके सपारौँ, नसके नबिगारौँ… !

यो पनि हेर्नुहोस्-

यसरी मनाइन्थ्यो तागो बाँध्ने/रक्षाबन्धन !