हिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल खेल हुने

हिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल खेल हुने


हिउँ चितुवा र याक संरक्षण गर्ने उद्देश्यले मुस्ताङमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । दिगो पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आगामी असोज ३ देखि ७ गतेसम्म खेल आयोजना हुने आइतबार (२३ भदौ) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल र आन्ट फाउडेशनको संयुक्त आयोजना तथा चामे गाउँपालिका र मनाङ्ग ङिस्याङ गाउँपालिकाको सहकार्यमा प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घ मनाङ र नमस्ते मनाङको सहकार्यमा मैत्रीपूर्ण फुटबल आयोजनामा हुने जनाइएको छ ।

हिउँ चितुवा र यसको वासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि भएकाले यसको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको बाइकोस नेपालका संस्थापक तथा संरक्षणविद् डा. पारसविक्रम सिंहले जानकारी दिए । संस्थाले अघिल्लो वर्ष मनाङका विभिन्न क्षेत्रमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो ।

समुद्र सतहबाट दुई हजार ६ सय मिटर उचाइमा रहेको तिमाङ र तीन हजार दुई सय मिटर उचाइमा रहेको मुङ्जी फुटबल मैदानमा हिमालयन स्नो लिवपर्ड, स्थानीय खेलाडी टिम कान्जिसरा याक र मनाङ ङिस्याङ याक (स्थानीय युवाहरु) बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना हुने आयोजक आन्ट फाउण्डेनका संस्थापक प्रशान्त ताम्राकारले जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर अनिल गुरुङले मनाङलाई हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको हबका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए ।