बीपी बिर्सेको काङ्ग्रेस र अबको बाटो

बीपी बिर्सेको काङ्ग्रेस र अबको बाटो


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बीपी भोगेका, देखेका, नजिकबाट चिनेका र जानेका नेता हुन् । उनी बीपीको आदर्शलाई आत्मसात् गरेर बीपीकै प्रत्यक्ष-परोक्ष प्रशिक्षणमा राजनीतिमा आएका नेता हुन् । अर्थात्, नेपाली काङ्ग्रेसको वर्तमान मुख्य नेतृत्व बीपी भोगेको पुस्ताले नै गरिरहेको छ । पार्टी सभापति देउवामात्र नभइ काङ्ग्रेसमा केन्द्रदेखि वडा तहसम्म हेर्ने हो भने आजका मितिसम्म पनि बीपी भोगेका नेताहरूको संख्या उल्लेख्य छ । यसको अर्थ नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइराला जसको नीति, आदर्श र सिद्धान्तलाई काङ्ग्रेसले आजसम्म पनि आफ्नो मूलमन्त्र मान्दछ । सोहीअनुरुप काङ्ग्रेसको नेतृत्व चलेको छ भनेर आम सर्वसाधारणले ठान्नु गलत हैन । नेपाली काङ्ग्रेस भन्नेबित्तिकै बीपीको नेतृत्वमा बनेको र उनकै नीति, सिद्धान्त तथा आदर्शमा चलेको पार्टी हो भनेर राजनीतिमा सामान्य चासो राख्ने जोसुकैले अनुमान लगाउँछन् । तर, के साँच्चै आमरूपमा ठानिएजस्तै अहिलेको काङ्ग्रेस बीपीको पथमा हिँडेको छ त ? कि काङ्ग्रेसले बीपी भुलिसक्यो ? वर्तमान समयमा काङ्ग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक र आम सर्वसाधारणका लागि यो निकै चासोको विषय हो ।

बीपीले काङ्ग्रेसलाई विचार, चिन्तन र प्रयोगद्वारा नेतृत्व प्रदान गरेका थिए । नेपाली काङ्ग्रेसका नेताहरू आज पनि सार्वजनिक मञ्चहरूमा बोल्दा बीपीका विचार, चिन्तन र उनले गरेका विभिन्न प्रयोगका बारेमा प्रसंशा गरेर थाक्दैनन्, तर आम मानिसले अनभूत गर्नेगरी उनीहरूले बीपीको विचारलाई कार्यान्वयन भने गरेको पाइँदैन । बीपीलाई पढ्दा हामीले जानकारी पाएका कुरा के हो भने बीपी निकै सरल र सहज हुनुहुन्थ्यो, बीपीको जिन्दगी एउटा खुला किताबजस्तै थियो, जसले आफ्नो सम्पुर्ण जीवन देश र जनताका लागि समर्पित गर्नुभएको थियो । राजनीति गर्ने मानिस जोगीसरह जनतामा समर्पित हुनुपर्दछ भन्ने बीपीको मान्यता थियो । बीपीलाई पढेर हामीले यस्तै-यस्तै कुरा जानेका हौँ, तर बीपीलाई भोगेको पुस्ता नै मूल नेतृत्वमा हुँदाका बखत पनि काङ्ग्रेस बीपीले सोचेअनुसारको पार्टी हुन नसक्नु निकै दुःखद विषय हो ।

केही अपवादलाई छाड्ने हो भने काङ्ग्रेसको अहिलेको नेतृत्वमा राजनीति जोगी हुन गरिँदैन भनेर सोच्ने नेताहरूको हाबी छ । उनीहरूको गतिविधि तथा जीवनशैली र बेला-बेलामा प्रवाहित हुने विचारले यस कुरालाई पुष्टि गर्दछ । नेपाली काङ्ग्रेसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो मुख्य आदर्श मानेको छ । काङ्ग्रेसको विधान अन्य दस्तावेजहरूमा पनि सोही कुरा उल्लेख छ । प्रजातान्त्रिक समाजवाद बीपीले प्रादुर्भाव गरेको सिद्धान्त हो । बीपीको भनाइ थियो- ‘समाजवादका दुईवटा पाटा छन्, राजनीतिकरूपमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिव जनतालाई न्याय दिने खालको विकास ।’ बीपीले भनेजस्तै प्रजातन्त्र प्राप्तिका लागि काङ्ग्रेसले विभिन्न कालखण्डमा महत्वपुर्ण योगदान पुऱ्याएको छ, यसमा दुईमत छैन । नेपालमा पटक-पटक भएका प्रजातान्त्रिक आन्दोनलहरूमा नेपाली काङ्ग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेका कुरामा कुनै सन्देह छैन । तर के काङ्ग्रेसले प्रजातन्त्र प्राप्तिपछि बीपीको समाजवादी सिद्धान्तलाई हुबहु कार्यान्वयन गरेको छ ? मूल प्रश्न यही हो । काङ्ग्रेसका नेतृत्वकर्ता नेताहरूले यसबारेमा अब गम्भीर भएर सोच्ने बेला भइसक्यो । काङ्ग्रेस नेतृत्व कहाँनेर चुक्यो, किन चुक्यो र अब फेरि बीपीको सिद्धान्तलाई कार्यान्वयन गर्दै काङ्ग्रेसलाई अगाडि बढाउन के असहज हुन्छ भनेर एकपटक आत्मसमीक्षा गर्दै नेतृत्वले जवाफ दिनुपर्दछ ।

आज काङ्ग्रेस बीपीलाई बेच्छ तर बीपीका आदर्श, सिद्धान्त र विचारहरूलाई व्यवहारमा लागू गर्दैन । यसले बीपीका अनुयायीहरूलाई ठूलो चोट पुगेको छ । काङ्ग्रेस प्रजातन्त्र स्थापनापछि लामो समय सत्तामा बस्यो, त्यतिबेला उसले न बीपी सम्झियो न त बीपीका विचार वा सिद्धान्त तथा आदर्शहरू नै अँगाल्यो । जसले गर्दा देशमा काङ्ग्रेसको लोकप्रियता क्रमशः घट्दै गएको कुरालाई नकार्न सकिँदैन ।

बीपीका आफ्नै भाइ-भतिजा पटक-पटक प्रधानमन्त्री भए । उनकै शिष्य शेरबहादुर पटक-पटक प्रधानमन्त्री भए र, अहिले काङ्ग्रेसको सभापति छन् । बीपीकै कान्छाछोरा डा. शशांक एक पटक पार्टीको महामन्त्री भए, अहिले पनि उनी काङ्ग्रेसका मुख्य नेताहरू मध्ये पर्दछन् । तर पनि काङ्ग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनीतिमा र सत्ता सञ्चालनमा बीपीविचार र उनको नीति लागू गर्न सकेन । यसले बीपीका अनुयायीलाई त चोट परेको छ नै, स्वयं सान्दाजुको आत्मासमेत पक्कै पनि खुसी नरहेको हुनुपर्छ ।

वर्षको एक–दुई दिन बीपीलाई सम्झिएर चर्को भाषण गर्ने, उनकै आदर्शको बाटोमा हिँड्ने प्रण गर्ने तर भाषण गरेको ५ मिनेटमै सबै कुरा भुल्ने काङ्ग्रेस नेतृत्वको प्रवृत्ति नै समस्याको मूल जड हो । काङ्ग्रेसले अब पनि बोलीमा मात्र नभइ व्यवहारमै बीपीको सिद्धान्त अङ्गीकार गर्न सकेन भने काङ्ग्रेस फेरि पनि वामपुड्के हुँदै जानेमा दुईमत नरहला । यही सन्दर्भमा स्वयं बीपीले भनेको एउटा भनाइ स्मरणीय छ- ‘एकदिन एउटा कार्यकर्ताले बीपीलाई सोधेछन्, ‘सान्दाजु… प्रजातन्त्र आएपछि हामीजस्ता कार्यकर्तालाई के हुन्छ ?’ बीपीले भनेछन्, ‘प्रजातन्त्र आएपछि एकपटक फेरि पार्टीभित्र सुकिला-मुकिलाहरू हाबी हुनेछन्, तिनले आदर्श बिर्सनेछन्, त्यस्ताका विरुद्ध पार्टीभित्रै फेरि तिमीजस्ता कार्यकर्ताहरूले संघर्ष गर्नपर्छ ।’ बीपी कति दूरदर्शी थिए भन्ने यस सन्दर्भले पनि पुष्टि गर्छ ।

नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो । बीपीका आदर्श र सिद्धान्तहरू बिर्सिन थालियो र सुकिलामुकिला पार्टीमा हाबी हुँदै गए । पार्टीभित्र डनवाद, धनवाद, नातावाद, कृपावाद, चाकडीवाद हाबी भएको कुरा इमान्दार काङ्ग्रेसी कार्याकर्ताहरूले राम्रैसँग अनुभूति गरेका छन् । जुन कुरा बीपीले कहिल्यै चाहेका थिएनन् । काङ्ग्रेसको वर्तमान नेतृत्वले त्यही गरिरहेको छ । तर इमान्दार कार्यकर्ताहरूले अझै तिनीहरूविरुद्ध सङ्घर्ष गरेका छैनन् । अति हुँदै गयो भने एकदिन त्यो पनि अवश्य हुनेछ र त्यो बेला कसैले पनि त्यसलाई रोक्न सक्ने छैन । जसले काङ्ग्रेसका लागि निकै दुःखद् परिणाम दिन सक्छ । त्यसकारण काङ्ग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । बीपी व्यक्ति मात्र नभएर विचार र सिद्धान्त हो, तसर्थ बीपीलाई अब काङ्ग्रेसले व्यवहारमा नै अवलम्बन गर्नु आवश्यक छ ।

आफ्नो विधान र चुनावी घोषणापत्रहरूमा प्रजातान्त्रिक समाजवाद उल्लेख गर्ने तर व्यवहारमा कहिल्यै त्यसलाई लागु नगर्ने काङ्ग्रेस नेतृत्वको यही चरित्रका कारण काङ्ग्रेस पटक-पटक खुम्चनुपरेको यथार्थलाई अब नेतृत्वले स्विकार गर्नुको विकल्प छैन । कागजीरूपमा मात्रै प्रजातान्त्रिक समाजवाद जस्तो युगअनुकुलको सिद्धान्तलाई अँगालेको देखाउने तर व्यवहारमा त्यो कतैपनि नभेटिने कुराले एक-दुई पटक जनतालाई झुक्याउन सकिएला तर सधै त्यो सम्भव छैन । त्यसकारण अब काङ्ग्रेसले सधै बीपीलाई भजाउने काममात्र गर्नु हुँदैन । बीपी विचारलाई व्यवहारमा नै अवलम्बन गर्नुपर्दछ ।

बीपी कोइरालाको नेतृत्वमा र उनैले पार्दुभाव गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्तको जगमा २०१५ सालको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइ बहुमत ल्याएको थियो । सत्तामा पुग्नासाथ बीपी कोइरालाले त्यसबखत आफ्नो सिद्धान्त लागु गर्न सुरु गरेका थिए । भूमिमाथिको सामन्ती एकाधिकार उन्मूलन, सहकारी आन्दोलनको थालनी, विभिन्न उद्योगको एकीकरण, उपयुक्त कर व्यवस्था त्यतिबेलाको सरकारले सुरु गरेका मुख्य काम थिए । बीपी कोइरालाको नेतृत्वमा बनेको त्यस सरकारले बिर्ता र जमिन्दारी प्रथा उन्मूलन अभियान, भूमिहीनलाई भूमि वितरण, मोहियानी अधिकार संरक्षण, राजारजौटा प्रथाको समाप्ति, देशव्यापी रूपमा शैक्षिक प्रगति अभियान, प्रशासनमा आधुनिकीकरण जस्ता परिवर्तनकारी र जनहितकारी अभियानको थालनी गरेको थियो । तर विडम्बना ! बीपी कोइरालाले डेढ वर्ष भन्दा बढी शासन गर्न पाएनन् । प्रजातान्त्रिक समाजवादअनुरुपका कामहरू हुँदाहुँदै बीपी अपदस्थ भए । तर, बीपीले जीवनभर आफूले प्रादुर्भाव गरेको प्रजातान्त्रिक समाजवादी सिद्धान्तकै लागि लडिरहे ।

बीपीको यही सिद्धान्तलाई आफ्नो मूल उद्देश्य ठानेको काङ्ग्रेस २०४७ सालपछि पटक-पटक सत्तामा पुग्यो, पटक-पटक बीपीको सपनालाई पूरा गर्ने अवसर पायो । तर व्यक्तिगत स्वार्थ, गुटगत स्वार्थ, अपरिपक्व नेतृत्व आदि कारणले काङ्ग्रेस आफ्नो मूल बाटोमा हिँड्न सकेन । व्यक्तीवाद हाबी हुँदा काङ्ग्रेस सधै अलमलिइरह्यो । आफ्ना आदर्श र सिद्धान्तको कार्यान्वयनले राजनीतिक रुपान्तरण गर्नतिर भन्दा व्यक्तिगत आर्थिक रुपान्तरणमा काङ्ग्रेसका नेताहरू हाबी हुनुले काङ्ग्रेस बीपीले सोचेझैँअघि बढ्न सकेन । काङ्ग्रेसले भुलेको प्रजातान्त्रिक समाजवादप्रतिको त्यही निष्ठालाई अब कार्यान्वयनतर्फ लैजान आवश्यक छ ।

वर्तमान समयमा पनि काङ्ग्रेस सत्तामा छ, देशको मुख्य कम्युनिष्ट पार्टीसँगको गठबन्धनमा काङ्ग्रेसले गर्न सक्ला या नसक्ला त्यो बहसको विषय बन्ला, यो गठबन्धन आवश्यक थियो या थिएन यो छुट्टै विषय होला, तर काङ्ग्रेसले आफ्नो मूल सिद्धान्तलाई कार्यान्वयन गर्नेतर्फ अब कदम अगाडि बढाउन अपरिहार्य भइसक्यो । यसका लागि सरकार सञ्चालनका आधारभुत सहमतिहरू, नीति तथा कार्यक्रमहरू र प्राथमिताहरूमा काङ्ग्रेसले प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयनमा लैजान जोड दिनु पर्दछ । दस्तावेजहरूमा मात्र हैन अब व्यवहारमा बीपी विचारलाई अवलम्बन गर्नु पर्दछ । त्यति गर्न सके एक पटक फेरि काङ्ग्रेसप्रतिको जनताको भरोसा जीवित होला, हैन भने यो २१औं शताब्दिमा अन्य थुप्रै विकल्पहरू अगाडि आइसकेका छन् । त्यसलाई काङ्ग्रेस नेताले बेलैमा मनन गर्नुपर्छ । अब सच्चिने कि सक्किने ? नेतृत्वले सोचोस् ।

आफू पनि केही नयाँ दिन नसक्ने अनि साढे सात दशकअघि बीपीले प्रतिपादन गरेका सिद्धान्तलाई पनि व्यवहारमा अवलम्बन नगर्दा काङ्ग्रेस नेतृत्व चक्रब्यूहमा फसेको छ । चक्रव्यूहबाट निस्कने एकमात्र सूत्र बीपीकै आदर्श, नीति र सिद्धान्तको सफल कार्यान्वयन हो । यसमा अब पनि नाफा-घाटा हेर्ने, भाइ-भतिजा, छोराछोरी, बुहारी, श्रीमान्-श्रीमती आदिका व्यक्तिगत स्वार्थ हेर्ने र त्यसै अलमलिरहने छुट नेतृत्वलाई छैन । एकपटक इमान्दार कार्यकर्ताहरूले बीपीले भनेझैँ यस्ता हर्कत र पार्टीभित्रको अलोकतान्त्रिक चरित्रहरूलाई जरैबाट उखेल्न निर्णायक पहलकदमी लिन आवश्यक छ ।