भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीको बिहीबार (२७ भदौ) निमोनियाका कारण निधन भएको छ । उनलाई अगस्ट १९ मा दिल्लीको एम्स अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।
भारतका बामपन्थी नेतामध्येका महत्वपूर्ण एक मानिने बहत्तर वर्षीय येचुरीको बिहीबार (१२ सेप्टेम्बर) स्थानीय समयानुसार ३ः०५ बजे निधन भएको एम्सले पुष्टि गरेको छ । परिवारले उनको शरीर शिक्षण र अनुसन्धान उद्देश्यका लागि एम्स, नयाँदिल्लीलाई दान गरेको छ ।
बत्तीस वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहेका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गरेका येचुरी भारतीय राजनीतिज्ञको रुपमा चिनिएका पात्र थिए । उनले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बङ्गालको प्रतिनिधित्व गरेका थिए ।
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)ले आफ्नो महासचिव येचुरीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै दिल्लीस्थित आफ्नो पार्टीको झन्डा आधा झुकाएर शोक व्यक्त गरेको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले येचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै अनुभवी नेता येचुरीलाई ‘वामपन्थको अग्रणी ज्योति’ भन्दै ‘यो दुःखद् घडीमा उहाँको परिवार र शुभचिन्तकहरूको साथमा छु’ भनेका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मूले पनि दुःख व्यक्त गर्दै सिपिआई (एम) का महासचिवको आवाज भिन्नै र प्रभावशाली थियो भनेकी छन् ।
ज्ञातव्य छ, प्रजातन्त्र पुनर्स्थापनको लागि २०४५/०४६ सालमा भएको आन्दोलनको समर्थनमा बामपन्थी नेता यचुरी काठमाडौं आइ चर्चित ‘चाक्सीबारी भेला’लाई सम्बोधन गरेका थिए ।
प्रतिक्रिया