अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँगको अर्को राष्ट्रपति बहसमा भाग नलिने घोषणा गरेका छन् । गत मङ्गलबार रातिको बहस आफूले जितेको दाबी ट्रम्पले गरेपनि सर्वेक्षणले भने ह्यारिसले जितेको देखाएको छ ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि ट्रम्प रिपब्लिकन पार्टीबाट र ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका छन् । अहिलेसम्मका सर्वेक्षणहरुमा दुवैबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
पूर्वराष्ट्रपति ट्रम्पले अध्यागमन र मुद्रास्फीति जस्ता विषयमा पनि विस्तृत रूपमा छलफल भइसकेकाले अब अर्को बहसको आवश्यकता नरहेको बताएका छन् । बाइडेन प्रशासनमाथि हमला गर्दै उनले देशलाई ध्वस्त पारेको र यसबारे बहसमा पनि कुरा भइसकेको जनाएका छन् । ट्रम्पले लेखेका छन्- ‘जब एक पेशेवर बक्सर हार्छ, उसले सधैं भन्छ कि म पुनः खेल्न चाहन्छु । मैले कमला ह्यारिसको विरूद्ध बहस जितेको छु र ह्यारिसले बहस हारेपछि तुरुन्तै अर्को बहसको माग गरेकी हुन् ।’
ह्यारिसले फक्स न्यूजको बहसमा भाग नलिने, एनबीसी र सीबीएस बहसमा पनि भाग लिन अस्वीकार गरेको आरोप ट्रम्पले लगाएका छन् ।
अमेरिकी राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बर ५ मा हुँदैछ ।
प्रतिक्रिया