आमा.. फर्कौं कि के गरूँ !

आमा.. फर्कौं कि के गरूँ !


म बिरामी हुँदा ‘फर्कनु’ भन्थ्यौ
‘अनिकालमा विदेश सहकालमा स्वदेश’ भन्थ्यौ
म प्रवाशमा असरल्ल छरिएँ आमा
र, समेलिन नसक्ने भएँ
भन आमा म फर्कौं कि के गरूँ ?

तिमीले छरेका बिउहरु यतै छन् धेरै
आमाका काखहरु खालि छन्
बाँझिएको खेतजस्तै उजाड
गाउँमाथिको सुमधुर वन जस्तै उजाड
रहरको बन्धनले मन हराएका
सपनाले बौलाएर डुलिरहेछन् आमा तिम्रा सन्तान
हुरीमा बालुवाको धुलो झैँ संसारभरि
तिम्रा सन्तान फोहर हैनन् आमा तर फोहोरी बनाइएका छन् अचेल !

मन थाम्न नसक्ने बौलाहाले जस्तै
ब्यानरको नाक्सामा देश खोज्छन् तिम्रा सन्तान
अक्षरभित्र माया खोज्छन् तिम्रा सन्तान
कामले चुहिएका पसिना सुकाएको प्रवाशमा
तिम्रै स्पर्शको न्यानो खोज्छन् आमा,
समुन्द्रमा बकुल्लाको बथान डुल्दा
तिम्रो आँगनबाट देखिने मालचरी सम्झन्छन्
र एक्लै एक्लै तिमीले गाउने गीत गाउँछन् !

नेपालमा तिमीले हामीलाई हुर्काएको कथा
युटुबमा खोज्छन्
तिमीले पिठ्यूँमा बोकेर डुलाउने घर पारीको पाखो खोज्न
भित्तामा सजाइएको नक्साभित्र डुल्छन् तिम्रा प्रवाशी सन्तान
तिमीले रोपेको कोदोको बाला, बाला काटेर रहेको नल
नल काटेर बाँचेका ठेट्ना खोज्न
फेसबुकले ठुला ठुला पाटा बिराएको छ आमा अहिले
हाम्रो खेतमा धुलो थियो र त्यो धुलोमा आमाको महक थियो
फेसबुकको खेतमा त त्यस्तो केहि छैन
तर कहिल्यै नपाउने कुरा पाउनको लागि धुर्मुस गर्छन्
तिम्रा सन्तान बौलाए आमा ।

युटुब र फेसबुकमा त सम्झना मात्र छ
तिर्सना मेट्ने कलकल बगेको पँधेराको पानि छैन
‘पानीमा धेरै नखेल चिसो लाग्छ’ भन्ने
आमाको त्यो बात्सल्यको बाणी छैन
खै के खोजेका हुन् तिनले ?

अर्को कुरा आमा, हाम्रो घर पल्तिरका साँइल्दाइ
अरबमा पुगेर प्राण पखालेको सम्झन्छु
अनि तिम्रै काखमा फर्कन मन लाग्छ,
मसिनेको भाईले रसियामा भाग्य खोज्दा
अन्जान पराइको गोलीले ढलेको सम्झन्छु,
मनमा हुरी बतास चल्छ र फर्कन खोज्छु
तर हलचल गर्नै सक्दिन र पीडाले रुन्छु
आउँ कि तिम्रा सन्तान हुर्कुन्जेल यतै बसुँ
भन आमा म के गरूँ !

तिमीले ‘गली सकेँ, मुटु दुख्न लाग्यो आइजा’ भन्छेउ
पार्टीका ठुला जागिरेहरुले पनि ‘फर्क भो’ भन्छन्
मान्छे बोक्ने जहाजले तिम्रो छेउ पर्नै दिँदैन
मान्छे ओसार्ने मान्छेहरुले प्रवाशको जागिर ठिक्क पार्छन्
सन्तान सबै यतै ल्याइसके आमा
आएकाहरु जागिर र ब्यापारतिर रमाएका छन्
तर तिम्रो माया पाउन म फर्कन खोज्छु
छोराछोरीहरुले आउन दिँदैनन्
भन म के गरूँ !

मायाँ नाप्नेहरुले ‘नआउ’ भन्छन्
मायाँ थाप्नेहरुले ‘आउ’ भन्छन्
सलाम थाप्ने जुठे र मिठेहरुले
देश कंगाल भयो ‘हामीलाई पनि लैजाउ’ भन्छन्
भिख माग्नेहरुले ‘नआउ’ भन्छन्
ईख दाग्नेहरुले ‘आउ’ भन्छन्
तिमीले पनि ‘आउ’ भन्छेउ
म अलमलमा छु, के गरूँ आमा।

अनि तिम्रो नाति नातिना सबै एतै छन्
सडक सडक डुलेर भजनतिर
बिश्रामको तरंगमा हराउन जान्दैनन्
गोरेको रंगमा मिसिन पनि सकेका छैनन्
काम गर्छन मरुन्जेल
भरे घर आउँछन र आफ्नो अनुहार ऐनामा हेर्छन्
फर्कौं भन्दा ‘नाइँ’ भन्छन्
‘उता पुगेर के गर्ने ?’ भनेर सोध्छन्
भर्खरै आउन मान्दैनन् जस्तो छ आमा
यतै बसेर यिनीहरुलाई फर्काउने मेसो मिलाउँ कि
सबैलाई छोडेर एक्लै आउँ
मैले बाटो पाइन
म के गरूँ आमा ।

यता टिभीमा चरा कराउँछ
उता आमाले घाँस काट्ने पाखाको जुरेली सम्झन्छु
काममा जाँदा पार्कमा कुकुर भुक्छ
घर अगाडी बाटोमा गाडीले थिचेर
एक खुट्टा झुन्ड्याउँदै हिडेको गाउँको कुकुर सम्झन्छु
जे गर्दा पनि सम्झना र तुलना उतैको छ ।

यता त बल्यानीको पानि पनि छानामै हराउँछ आमा
तिम्रा सन्तान हराए झैँ अनि मेरो मन हराए झैँ
त्यै पनि पानि पर्दा बल्यानी हेर्न बाहिर हेर्छु
झुक्कीन्छु,
म कुर्चीमा बस्दा भारि बिसाउने चौतारो कल्पन्छु
भोक लाग्दा देउरालीको पाखाको गुयालो
रौदीको खनीम र तिमीले टिपेको बेलौंति सम्झन्छु
भावनाले सँधै झुक्याइरहन्छ
मन सचेत रहेन आमा म के गरूँ !

म भित्र भित्रै रित्तिएँ आमा
जीव तत्व खिइँदै गयो, चेत भौँतारियो
सम्झनाले भावना भरियो
म मनोरोगी भएँ जस्तो लाग्छ
चारैतिर हेर्छु कतै बाटो छैन आमा
भन तिम्रो बचन पुरा गरूँ कि सन्तानको साथ हेरुँ ।

तिम्रो नियाश्रो मेट्न तिमीले रोपेको तुलसीको बोट
मोठमा हैन गमलामा हुर्काएको छु
लाग्छ तिम्रा बुढेसकालको असहाय हातले
गमलाको अमृतवृक्षलाई मलजल गरिरहेको छ
तिमी र म सँगै उभिएर खिचेको तस्बिर भित्तामा छ
हजारौँ स्वदेशी आमा र सन्तानहरुको प्रतिबिम्ब बनेर
उतैका पखेरातिर चल्मलाए झैँ लाग्छ आमा !

परिबन्दले बन्दी बनाइएका मेरा आँखा खोल्दा
प्रवाशका गल्लीमा हजारौँ तिम्रा छोराहरु
तिम्रो न्यानो बिर्सन खोज्दा
तिम्रै तस्विर हेरेर रुन्छन्
मलेशियाका जंगलहरुमा तिम्रा सन्तानहरु
कंकाल शरीर लिएर सुख खोज्न कुदेका छन्
जापान बर्मा थाइल्याण्ड र अफ्रिका
अष्ट्रेलिया,अमेरिका र अरब भूमिमा
निर्माणाधिन भवनका बढेमाका कंकालमाथि
सुखको सपना बोकेर झुण्डिएका छन् रसिमा तिम्रा सन्तान
सबैको देह फरक छ तर सपना एउटै ।

तिमीले तुलसी सारेको मोठ सम्झन खोज्छ मनले
तुलसीको बिहेमा बत्ति बालेका तिम्रा हात हेर्न खोज्छ मनले
मैले यहाँ तुलसी उमारेको छु गमलामा
गमलाको तुलसीलाई तिम्ले सारेको मानेर पानि हाल्छु
गमलालाई आमाको मोठ जस्तै सम्झन खोज्छु
हुँदैहुन्न आमा !

युरोपको पार्कलाई तिमीले घाँस काट्ने पखेरा सम्झँदा
सुस्ताउने बेञ्चलाई चौतारो बनाउन खोज्छु
कल्पनालाई भावभित्र खेलाउन खोज्दा
बिपनामा तिमीलाई छुनै सक्दिन
तिमी हराउँदा तस्विर मात्र आउँछ
अनि म ममा नरहेर हराउँछ
कता जान्छ कता !

मन हराएर पुगेको गोठमा
न तिमीले घाँस हाल्ने भैँसी आउँछ
मन हराएर पुगेको घरको अगेनामा
न तिमीले बालेको आगो भर्भराउँछ
कल्पनालाई उल्ट्याएर तिमीलाई खोज्छु
हुँदै हुन्न आमा !

सपनामा आएकी आमालाई उठेर छाम्छु
ब्युझेपछि आमालाई पाउँदिन
लाखौँ आमाहरुका रुझेका आँखा सम्झन्छु
सन्तान कुरेर बसेका अस्पतालका आमा बाबुका लासहरु सम्झन्छु
एक्लै निसासिन्छु,भक्कानिन्छु
भन आमा अब म के गरूँ !

तिमी फुकेको अगेनाको आगो ताप्न
ग्याँसको चुलोमा हात सेकाउँछु
तिम्रो आगो जस्तो रापिलो छैन आमा यताको आगो
तिमीले साँचेको मोहर खोज्न
विस्मृत हुँदै गरेको तिर्सनामा
यहि लक् बक्सलाई मदुस सम्झी
बाकसको गहिराइ भित्र हात घुसार्छु
एता उता सबैतिर हात कुदाउँछु
तिमीले लुकाएको मोहर भेटिन्न
त्यहाँ त श्रीमतीको लिपिष्टिक र पाउडर मात्र भेटिन्छ
म हैरान भएँ आमा के गरूँ अब ?

तिमीले राखेको केहि भेटिन्न आमा
हुँदै नभएकी तिमी यतै भएको भ्रम भेटिन्छ
हुँदै नभएको मोहरको भ्रम भेटिन्छ
झुट र भ्रमभित्र तिमी कहिल्यै बसेको थाहा थिएन
तर त्यहि भ्रम मात्र भेटिन्छ आमा ।

अखबार प्यारा छन् अचेल
कवितामा आमा खोज्छु अखबारमा
अखबारमा आमा हुन्नन् समाचार हुन्छन्
समाचारमा तिमी हुन्नौ सन्तानका बेथाहरु मात्र हुन्छन्
बेथामा सन्तानहरुका अश्रु कथाहरु मात्र छन् आमा
जिउदो बिदाई अनि मृत कफिनको आगमनका कारुणिक कथा ।

तिम्रा छोराहरु कफिनभित्र घर पुग्दा कति रुन्छेउ होला
तिम्रा छोराहरुको रुग्ण आवाजले कति अत्यास लाग्दो होला
संसारका गल्ली गल्ली बेचिएका तिम्रा सन्तान
ठगहरुको जालोले थुनिदा कति अतासिन्छेउ आमा
तर पनि ठगहरुलाई श्राप दिन्नौ
तिमी कति क्षमाशील र सान्त छौ आमा ।

खै अझै त म जिउँदो छु
यतै अरबी बालुवाको भेडीगोठतिर
तिम्रै अर्को सन्तान म छु
यतै मलेसियाको कारखानातिर
तिम्रै उही रगत म छु
अफ्रिका,युरोप,अमेरिका र अष्ट्रेलियातिर
तिम्रै अर्को आशा म छु जापान र रसियातिर ।

तर शिरमा ऋणको बादल छ
खुश हैन सुखको नसा चढेको छ
ऋणको बादल फटाउन सकेको छैन अझै
त्यसैले मेरा निर्वासित गोडा फर्कन डराई रहन्छन्
मन तिमीसंग छ तर अझै ऋण छ आमा
मेरो,तिम्रो अनि जन्मभूमिको ऋण
सपनाका फूलहरु धेरै फ़ुलाएको छु
म द्विविधामा परें
भन म फर्कुं कि के गरूँ ?

  • बेल्जियम