केजरीवालको राजिनामापछि दिल्लीको मुख्यमन्त्रीमा आतिशी मार्लेनाको दाबी

केजरीवालको राजिनामापछि दिल्लीको मुख्यमन्त्रीमा आतिशी मार्लेनाको दाबी


भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका छन् । केजरीवालले राज्यका उपराज्यपाललाई आफ्नो राजीनामा बुझाएका हुन् । केजरीवालले राजीनामा दिएसँगै आम आदमी पार्टी (आप)की नेतृ आतिशी मार्लेनाले मुख्यमन्त्रीको दाबी पेश गरेकी छन् ।

केजरीवाल र आतिशी दुवैले उपराज्यपाललाई सँगै भेट गरेको आम आदमी पार्टीले जानकारी दिएको छ । यसअघि बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवालले सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरि जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए ।

४३ वर्षीय आतिशी हालको दिल्ली सरकारमा शिक्षामन्त्री रहेकी छन् । उनलाई आम आदमी पार्टीको एक महत्वपूर्ण नेता मानिन्छ । केजरीवालसहितका शीर्ष नेताहरु जेलमा हुँदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जश उनलाई दिने गरिन्छ ।