युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह

युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह


चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई सम्बोधन गर्दै गाजा र युक्रेनमा जारी युद्धजस्ता द्वन्द्वको समाधान ‘वार्ता’ नै एकमात्र समाधान भएको बताएका छन् ।

सियाङशान फोरमका लागि बेइजिङमा रूस, म्यान्मा, पाकिस्तान, सिङ्गापुर, इरान र जर्मनीका उच्च सैन्य प्रतिनिधिसहित ५०० भन्दा बढी प्रतिनिधि सहभागी छन् ।

मध्यपूर्वमा दूत पठाउने, उत्तरी म्यान्मामा अस्थायी युद्धविरामको मध्यस्थता गर्ने र गत वर्ष साउदी अरब र इरानबीच ऐतिहासिक मेलमिलाप गराउनेलगायत विश्वव्यापी द्वन्द्वमा मध्यस्थकर्ताका रुपमा बेइजिङले आफूलाई प्रस्तुत गरिरहेको बेला तीन दिने फोरम हुन लागेको हो । युक्रेन र इजरायल-प्यालेस्टाइनका विषयमा चीनले आफूलाई अमेरिकाभन्दा बढी तटस्थ रूपमा प्रस्तुत गरेको छ ।

‘युक्रेनको सङ्कट र इजरायल-प्यालेस्टाइन द्वन्द्वजस्ता महत्वपूर्ण मुद्दाहरू समाधान गर्न शान्ति र वार्तालाई बढावा दिनु नै एक मात्र उपाय हो’, दोङले उद्घाटन समारोहमा भनेका छन्- ‘युद्ध र द्वन्द्वमा कोही पनि विजेता हुँदैन, र मुठभेडले कहीँ पनि पुगिँदैन । द्वन्द्व जति चर्कियो, त्यति नै हामीले वार्ता र परामर्श त्याग्न सक्दैनौं । कुनै पनि द्वन्द्वको अन्त्य मेलमिलाप नै हो । सबै देशलाई शान्तिपूर्ण विकास र समावेशी शासनलाई बढावा दिन आह्वान गर्दछु ।’

फोरममा अमेरिका–चीन सम्बन्ध, युरोप र एसियाको सुरक्षा र बहुध्रुवीय विश्वमा प्रतिरक्षाका चुनौतीबारे छलफल हुनेछ ।

‘राष्ट्रिय सुरक्षा अवधारणाहरूको प्रसारविरुद्ध नयाँ प्रविधिले सम्पूर्ण मानवजातिलाई अझ राम्रो फाइदा पुऱ्याउन सक्छ’ भन्ने सुनिश्चित गर्न दोङले आग्रह गरेका छन् ।