सिरियाको नयाँ प्रधानमन्त्रीमा जलाली नियुक्त

सिरियाको नयाँ प्रधानमन्त्रीमा जलाली नियुक्त


सिरियाको नयाँ प्रधानमन्त्रीमा मोहम्मद गाजी जलालीलाई नियुक्त गरिएको छ ।

सिरियाली राष्ट्रपति बसर अल-असदले शनिबार (१४ सेप्टेम्बर) नयाँ प्रधानमन्त्रीमा जलालीलाई नियुक्त गरेका हुन् ।

सिभिल इन्जिनियर तथा अर्थशास्त्रको पृष्ठभूमिबाट आएका ५५ वर्षीय जलालीलाई राष्ट्रपतिको आदेशअनुसार नयाँ मन्त्रिपरिषद् गठनको जिम्मेवारी दिइएको छ । उनले हुसेन आर्नोसलाई प्रतिस्थापन गरेका हुन् ।

आर्नोसले सन् २०२० देखि प्रधानमन्त्रीका रूपमा काम गर्दै आएका थिए । आर्नोसको सरकारले जुलाईमा संसदीय चुनावपछि कामचलाउ भूमिकामा काम गरिरहेको थियो ।

यसअघि सन् २०१४ देखि सन् २०१६ सम्म सञ्चारमन्त्री भइसकेका जलालीले इजिप्टको ऐन शम्स विश्वविद्यालयबाट इन्जिनियरिङ र अर्थशास्त्रमा र दमास्कस विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

नयाँ प्रशासनले सेप्टेम्बर २५ मा सिरियाली जनसभामा आफ्नो नीति तथा कार्यक्रम पेश गर्ने तालिका रहेको छ भने छिट्टै पूर्ण मन्त्रिपरिषद्को आधिकारिक घोषणा हुने अपेक्षा गरिएको छ ।