म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
म्यान्मा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
म्यान्मामा गत शुक्रबार साँझसम्म बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै ८९ जना बेपत्ता भएको ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । सन् २०२१ मा सेनाको ‘कू’पछि युद्ध चर्किरहेको देशलाई बाढीले थप दुःख दिएको छ । बाढीले ६५ हजारभन्दा बढी घरमा क्षति पुऱ्याएको, पाँचवटा बाँध भत्काएको विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जुन्तामा यसअघि ३३ जनाको मृत्यु भएको थियो भने दुई लाख ३५ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए । राजधानी न्यापितको बाहिरी भागलगायत मध्य क्षेत्रका केही भाग डुबानमा परेका छन् ।
पहाडी क्षेत्रमा धेरै स्थानमा पहिरो गएका खबर आएको छ । त्यहाँ सडक र पुलमा क्षति पुगेको छ भने फोन तथा इन्टरनेटको लाइन बन्द हुँदा सूचना सङ्कलन गर्न कठिन भएको छ । मध्य र दक्षिणी म्यान्मा हुँदै बग्ने सिताउङ र बागो नदीमा पानीको सतह आइतबार पनि खतराको तहभन्दा माथि रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
म्यान्माका अधिकारीहरूले विस्थापितलाई राख्नका लागि ८२ वटा ‘राहत शिविरहरू’ खोलेको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । थाइल्याण्डको मौसम कार्यालयले मेकोङ नदीको छेउछाउका प्रान्तहरूमा थप भारी वर्षाको चेतावनी दिएको छ ।
द्वन्द्वका कारण २७ लाखभन्दा बढी मानिस विस्थापित भएको म्यान्मामा आँधीका कारण आएको बाढी र डुबानले थप सङ्कट निम्त्याएको छ ।
म्यान्मारको जुन्टा प्रमुखले बाढीसँग जुध्नका लागि विदेशी सहयोगका लागि दुर्लभ अनुरोध गरेको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
सेनाले यसअघि पनि विदेशबाट आउने मानवीय सहायतालाई रोकेको वा दुरूत्साहित गरेको थियो ।
प्रतिक्रिया