प्रदेशमन्त्री हाङ्गामको सम्मान

प्रदेशमन्त्री हाङ्गामको सम्मान


कोशी प्रदेशमा नेपाली काङ्ग्रेसका तर्फबाट कृषि, उद्योग तथा सहकारीमन्त्री बनेका खगेनसिंह हाङ्गामलाई राजधानीमा सोमबार (३१ भदौ) सम्मान गरिएको छ ।

नेपाली काङ्ग्रेसको तर्फबाट प्रदेश सांसदमा ताप्लेजुङ (ख) बाट निर्वाचित हाङ्गाम प्रदेशको मन्त्री बनेपछि उहाँलाई नेपाली काङ्ग्रेस ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिले बधाइ दिँदै सम्मान गरेको हो ।

समितिका सभापति सूर्य इजमसमेतका ताप्लुजुङबाट काठमाडौं आएर अध्ययन तथा व्यापार व्यवसाय गर्दै बसोबास गरेका काङ्ग्रेस नेता तथा कार्यकर्ताहरुले मन्त्री हाङ्गामलाई बधाइ दिँदै सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा प्रदेश मन्त्री हाङ्गामले ताप्लेजुङको विकासका लागि प्रदेश मन्त्रीको हैसियतबाट गर्न सक्ने सबै काम आफूले गर्ने बताए । यस्तै, सम्पर्क समिति सभापति सूर्य इजमले ताप्लेजुङको विकासका लागि मन्त्री हाङ्गामसित ताप्लेजुङबासीको ठूलो आशा रहेको बताए । उनले भने, ‘प्रदेश मन्त्रीमा हाम्रा नेता हाङ्गाम नियुक्त हुनु भएको छ, हामीलाई आशा छ, उहाँले ताप्लेजुङको विकासमा ठूलो योगदान दिनुहुनेछ ।’

कार्यक्रममा ताप्लेजुङ नेपाली काङ्ग्रेसका पूर्व पार्टीसचिव मङ्गल मेन्याङबो, प्रजातान्त्रिक कानुन व्यवसायी संघका पूर्व सदस्य रणबहादुर थेबे, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका केन्द्रीय सदस्य देवीप्रसाद गिरी, नेविसंघका केन्द्रीय सदस्य तथा सम्पर्क समिति उपसभापति राज थेबेसमेतको उपस्थिति रहेको थियो ।