तीस देशको सहभागितासहित पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव हुने

तीस देशको सहभागितासहित पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव हुने


पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवको आवश्यक तयारी भइरहेको जानकारी दिएका छन् ।

बाडेका अनुसार नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीको सहभागिता रहनेछ । पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

‘पर्यटन राजधानी पोखरामा साहसिक पर्यटनको विकास, थप आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो, यसबाट पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ’, अध्यक्ष बाडेको भनाइ छ ।

कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुने विश्वास लिइएको छ ।

विश्वमा सन् १९७२ मा पहिलो पटक अमेरिकामा अबुक्वेक्यु इन्टरनेशन बलुन फियस्ता सुरु भएको थियो । प्रत्येक वर्ष न्यू मेक्सिकोमा आयोजना हुने यो महोत्सवमा करिब ५०० वटा हट एयर बलुनले उडान गर्छन् । उक्त महोत्सवमा विश्वभरबाट १० लाखभन्दा बढी पर्यटक उपस्थित हुन्छन् । त्यसबाहेक सन् १९७९ मा इङ्ग्ल्याण्डको ब्रिस्टोलमा स्थापना भएको बलुन फेस्टिभलल पनि विश्वभर प्रख्यात छ ।

त्यसबाहेक जापानमा सागा इन्टरनेशनल बलुन फियस्ता, फ्रानसमा मोन्डायल एयर बलुन्स इभेन्ट, टर्कीमा क्यापाडोसिया इन्टरनेशनल बलुन फेस्टिभल विश्वका प्रमुख बलुन महोत्सवमा पर्छन् ।

आयोजकका अनुसार महोत्सवभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटले हट एयर बेलुनको उडान गर्नेछन् । एक सातासम्म चल्ने महोत्सवमा करिब पाँच सय व्यावसायिक उडान हुनेछन् । जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् ।

महोत्सवका अवसरमा पोखरामा मिनि बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि रहनेछ । महोत्सवमा एकै पटक धेरै बलुन उडान हुनेहुँदा त्यसको रौनक छुट्टै हुनेछ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक महोत्सवमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरञ्जनात्मक पर्यटकीय गतिविधि पनि उपलब्ध हुनेछ । महोत्सव आयोजना गर्नका लागि छ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

हट एयर बलुनमा सामान्यतयाः ४० मिनेटको लामो उडान हुन्छ । उडानका क्रममा अन्नपूर्ण, माछापुच्छ«े र धौलागिरिलगायतका हिमशृङ्खलासहित पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी सूर्योदय र सूर्यास्तको मनोरम दृश्यका साथै, नाइट बलुन ग्लोज, प्रत्येक दिन २० मिनेट फायर वर्क्स, बलुसन रेस, कन्सर्ट, विभिन्न खेल, फूडकोर्ट, सांस्कृृतिक नृत्य, डिजे म्युजिक तथा नाइट क्याम्पलगायतका मनोरञ्जनात्मक गतिविधि हेर्न पाइनेछ ।

विसं २०७३ मा स्थापना भएको बलुन नेपाल प्रालिले विसं २०७५ देखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत फेब्रुअरीमा थाइल्याण्डमा सम्पन ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।