नुवाकोटमा चाडपर्वलक्षित सवारी दुर्घटना कम गर्न कार्यक्रम सुरू

नुवाकोटमा चाडपर्वलक्षित सवारी दुर्घटना कम गर्न कार्यक्रम सुरू


  • विकास रौनियार

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्वलक्षित सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम संचालनमा ल्याएको छ ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर नुवाकोटमा दुर्घटना न्युनीकरणका लागि चालकसँग प्रतिवद्धता कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा पासाङ ल्हामु राजमार्ग अन्तर्गत विदुर नगरपालिका–४ बट्टार बजारमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको उपस्थितिमा २५० जना चालकहरुलाई चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सवारी चालकको प्रतिवद्धता पत्र वाचन गर्न लगाइएको थियो ।

कार्यक्रममा नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी शान्तिराज कोइराला, नुवाकोट ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीलगायत संचारकर्मी, स्थानीय, यातायात व्यवसायीको उपस्थिति रहेको थियो । साथै राम्रो कामको सुरुवात स्वरूप मिठो चकलेट खुवाइ सवारी साधनहरुमा प्रतिबद्धता स्टिकर टाँस गरि राष्ट्रिय झण्डासमेत फराइएको नुवाकोट ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहीले बताए ।

शाहीका अनुसार अभियानमा सवारी चालकहरुलाई सिकाउने, अनुभव गराउने, जानकारी गराउने, प्रतिबद्धता गराउने र आफ्नो सुरक्षाबारे जानकारी गराउने सचेतनामूलक कार्यक्रमको उद्देश्य रहेको छ ।