‘बीमा शिक्षाका लागि विद्यालय तहमा पाठ्यक्रम राख्ने पहल भइरहेको छ’

‘बीमा शिक्षाका लागि विद्यालय तहमा पाठ्यक्रम राख्ने पहल भइरहेको छ’


  • सन्चित बज्राचार्य (सिइओ, प्रभु इन्स्योरेन्स)
हाल प्रभु इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएको छ सन्चित बज्राचार्य । काठमाडौंमा जतिबेला लगभग ८–१० वटा बोर्डिङ्ग स्कुल खुलेका थिए, त्यो समयमा पनि उहाँले प्राथमिक चरणबाटै बोर्डिङ्ग स्कुलमा पढ्ने अवसर पाउनुभयो । उहाँ पढ्ने स्कुलमा कक्षा ८ देखि नै एकाउण्ट (लेखा) विषय पढाइ हुन्थ्यो । मार्टियस मेमोरियल इग्लिस बोर्डिङ हाई स्कुल, ज्ञानेश्वरबाट उहाँले माध्यमिक तहको औपचारिक शिक्षा पूरा गर्नु भयो । त्यसपछि नेपाल कमर्स क्याम्पस, मीनभवनबाट आफ्नो अध्ययनलाई निरन्तरता दिँदै स्नाकोत्तर अध्ययन पूरा गर्नु भयो । कमर्स पढेको र लेखा सम्वन्धि काममा ज्ञान भएका कारण उहाँ करिव १७ वर्षअघि लेखा प्रमुखको हैसियतमा प्रभु इन्स्योरेन्स कम्पनीमा प्रवेश गर्नु भयो । हाल कम्पनीको प्रमुख रहेर कार्य सम्पादन गर्दै आउनु भएको छ । उहाँसित घटना र विचारका लागि प्रमुख संवाददाता सुरेन्द्र सुवेदीले गरेको कुराकानीको संपादित अंश ।

✍ प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको उद्देश्यबारे केही बताइदिनुहोस् न !
■ मुलुकमा बीमाको पहुँच अत्यन्त न्यून रहेको तत्कालीन समयमा देशका दूरदराजका आम नागरिकमा सहज रूपले बीमा सेवा उपलब्ध गराउने, बीमाको विकास तथा बीमितहरूको भविष्यको रक्षा गर्दै अगाडि बढ्ने मूल उद्देश्यका साथ २०५३ सालमा प्रभु इन्स्योरेन्स लिमिटेड स्थापना भएको हो ।

✍ प्रभु इन्स्योरेन्स कस्तो इन्स्योरेन्स कम्पनी हो ?
■ प्रभु इन्स्योरेन्स लिमिटेड बीमासम्बन्धी नयाँ-नयाँ क्षेत्रहरूको पहिचान गरेर नयाँ बीमा योजनाका साथ ग्राहकमुखी सेवालाई प्रभावकारी बनाउँदै प्रतिस्पर्र्धी बीमा कम्पनीको रुपमा अगाडि बढिरहेको एक निर्जीवन बीमा कम्पनी हो । जसले घर, गाडी, निर्माण क्षेत्रलगायत निर्जीवनसँग सम्बन्धित सबै प्रकारका बीमा गर्ने गर्दछ ।

✍ यो इन्स्योरेन्सले कुन-कुन क्षेत्रमा काम गर्दै आएको छ ?
■ निर्जीवन बीमा कम्पनीको मुख्य कारोबार भनेको निर्जीवन बीमा व्यवसाय नै हो । निर्जीवन बीमामा पनि खासगरी हाम्रो मुलुकमा मोटर, सम्पत्ति, भौतिक निर्माण तथा मेशिनरी बीमाको हिस्सा अधिक रहेको छ । पछिल्लो समय कम्पनीको प्रयासमा नयाँ-नयाँ बीमा लेखहरूको विकास गर्दै ग्राहकहरूको मागअनुसारका बीमा योजनाहरू कम्पनीले ल्याएको छ ।

✍ अब अन्य क्षेत्रमा पनि बिस्तार गर्ने योजना छ कि ?
■ कम्पनीको कार्यक्षेत्र तथा लगानीको लागि नेपाल बीमा प्राधिकरणबाट निश्चित क्षेत्र तोकिएको हुन्छ, त्यही आधारमा कम्पनीले आफ्नो कारोबार तथा लगानी गर्ने हो । पछिल्लो समय बीमा कम्पनीहरुको लगानीको दायरा बिस्तार गरि सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी तथा पर्यटन एवम् होटललगायतका क्षेत्रमा समेत लगानी गर्न सक्ने भएकोले कम्पनीले पनि सोहीअनुसार आफ्नो कारोबार तथा लगानी बिस्तार गर्दै जानेछ ।

✍ देशको समग्र बीमा क्षेत्रमा यस इन्स्योरेन्सको के-कति योगदान छ, देशका कति जिल्लामा शाखा, उपशाखा पुगेका छन् ? समग्र ग्राहकको संख्या कति छ र बीमा शुल्क कति जम्मा भएको छ ?
■ प्रभु इन्स्योरेन्स लिमिटेड नेपालमा सञ्चालित सफल कम्पनीमध्ये पर्छ र, मुलुकमा बीमा सेवा बिस्तारमा कम्पनीको राम्रो योगदान रहेको छ । मुलुकका विभिन्न जिल्लामा गरि कम्पनीका ६० भन्दा बढी शाखा तथा उपशाखा रहेका छन् भने वार्षिक करिव एक लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १ अर्ब ७८ करोड बीमा शुल्क हासिल गर्न सफल भएको छ ।

✍ यस संस्थाले ग्राहकलाई वार्षिकरूपमा सरदर कति बीमा दाबी भुक्तानी गर्दै आएको छ ?
■ कम्पनीको विगत तीन आर्थिक वर्षको बीमा दाबी भुक्तानीको आँकडा हेर्दा कम्पनीले औषतमा वार्षिक ६० करोड रुपैयाँबराबरको बीमा दाबी भुक्तानी गर्दै आएको छ । यसलाई भनिरहनै पर्दैन, समय-समयमा प्रकाशित वित्तीय विवरणले नै स्पष्ट पार्छ ।

✍ प्रभुका अबका योजना के-के छन् ?
■ हाम्रो मुख्य योजना भनेको ग्राहकलाई सहज तथा छिटो छरितो रुपमा बीमा सेवा प्रदान गर्नु हो । विशेषगरी भौगोलिक विकटता तथा तथा पिछडिएको क्षेत्रहरुमा सहज रुपमा बीमा सेवा प्रदान गर्नको लागि कम्पनीले प्रविधिको प्रयोगलाई अधिक ध्यान दिँदै आएको छ । बीमाको पहुँच नपुगेका क्षेत्रहरुको पहिचान गरि उक्त स्थानमा कम्पनीको उपस्थिति जनाइ सहज रुपमा बीमा सेवा प्रदान गर्दै कम्पनीको कारोबार तथा लगानीको दायरा बिस्तार गरिँदै लगिने योजना रहेको छ ।

✍ समग्र बीमा क्षेत्रमा के-कस्ता समस्या छन् ?
■ मुलुकको बीमा क्षेत्रमा देखिएको मुख्य समस्या भनेकै बीमा शिक्षाको कमी रहेको देखिन्छ । जनमानसमा बीमासम्बन्धी ज्ञानको अभावका कारण बीमा-चेतनाको कमी छ । मुख्य समस्या भनेको यही हो । यदि बीमा सम्बन्धमा सबैको चेतना हुने हो भने अन्य खासै समस्या देखिँदैन ।

✍ तिनको समाधान गर्न कस्तो पहल भइरहेको छ नि ?
■ पछिल्लो समयमा जनमानसमा बीमासम्बन्धी जानकारी तथा सचेतना अभिवृद्धिको लागि नेपाल बीमा प्राधिकरण तथा बीमा कम्पनीको संयुक्त प्रयासमा स्थानीय तह, कृषक समूह तथा विभिन्न क्षेत्रमा बीमा सचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । जनमानस र समुदायहरूमा प्रत्यक्ष रुपमा चेतना फैलाउने कार्य पनि भइरहेको छ । साथै बीमा शिक्षाको लागि विद्यालय तहदेखि नै बीमासम्वन्धी पाठ्यक्रम राख्नको लागि पहल भइरहेको छ ।